breakingविचार

किन बहुआयामिक भनियो बीपीलाई

गणेशदत्त भट्ट
व्यक्तिको स्वतन्त्रता र उसको गरिमा कायम गराउने आधार निर्माण गर्ने कार्यका लागि संघर्षशील व्यक्तिको योगदान निश्चित भूभागमा सीमित रहँदैन। त्यसको प्रभाव क्षेत्र सम्पूर्ण मानव जाति हो। ती महान् व्यक्तिहरूमध्ये एक हुन्, विश्वेश्वरप्रसाद कोइराला (बीपी) जसले व्यक्तिगत स्वतन्त्रता, मानवीय मर्यादा, राष्ट्रिय हितको संरक्षण र राष्ट्रियता संरक्षणका लागि जीवनपर्यन्त आफूलाई समर्पित गर्नुभयो।
बीपी जति बाँच्नु भयो, जुन जीवन उहाँले जिउनु भयो, जुन आदर्शका लागि निरन्तर लड्नु भयो, ती सबै विषयले नेपाल राष्ट्र र नेपाली समाजलाई अनन्तकालसम्म मार्गनिर्देशन गरी नै रहनेछ। बीपीको सम्पूर्ण जीवन एक ठाउँमा राखेर सिलसिलेबार रूपमा अध्ययन गर्ने हो भने त्यति ठूलो बहुआयामिक र प्रेरणादायी व्यक्तित्व मानव जातिमा धेरै थोरै मात्रामा छन्।
बीपीले दुःख–कष्ट, आरोह–अवरोह, जेलभित्र–जेलबाहिर, स्वदेशमा–निर्वासनमा, सत्ताभित्र–सत्ताबाहिर गरी जसरी उहाँले विभिन्न रूपको राजनीतिक जीवन जिउनु भयो, उहाँका यस प्रकारका जीवन भोगाइहरू निश्चितरूपमा उहाँका लागि कष्टकर थिए होलान् तर उहाँको हरेक भोगाइले मानव जातिलाई मानवीय मर्यादा, स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय स्वतन्त्रताका लागि उत्सर्ग र क्रियाशील रहने प्रेरणा र चेतना प्रदान गरेको छ। यस लेखमा आफ्नो तर्फबाट बीपीका बारेमा केही लेख्नुभन्दा विभिन्न सन्दर्भ र समयमा उहाँले प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, विकासको मोडेल र मेलमिलापको अपरिहार्यता, आफ्नो बाल्यकालजस्ता विषयमा व्यक्त गर्नुभएका प्रेरणादायी केही महत्त्वपूर्ण विचार उल्लेख गर्ने प्रयास गरेको छु। एउटा महान् नेपालीको जीवन र उसका केही कालजयी विचारहरूलाई संक्षिप्त रूपमै भए पनि आम नेपालीलाई जानकारी गराउने उद्देश्य यस लेखको हो।
आफूले जन्मिएको समय र त्यसका प्रभावबारेमा बीपीले लेखेका छन्, ‘प्रथम महायुद्धको प्रारम्भ र मेरो जन्ममिति समकालीन भएकाले म आफूलाई युद्धोत्तर पिँढीको सदस्य ठान्दछु।’ यस अर्थमा उहाँको जन्मकालीन समयले ल्याएको चेतना, प्रभाव, त्यसका असर र त्यसले स्थापित गरेका मूल्यमान्यताको प्रभाव बीपीको जीवनमा पनि प्रस्टरूपमा देखिन्छ। फलस्वरूप उहाँ जीवनभरि न्याय, स्वतन्त्रता, मानवीय मर्यादा र राष्ट्रिय स्वाधीनता स्थापनाको संघर्षको पहिलो पंक्तिमा उभिएर संघर्ष गर्नुभयो।
उहाँले आफ्नो बाल्यकालको एघारबर्से बनवास कालको अवस्थाको बारेमा लेख्नुभएको छ, ‘त्यस अवधिभर अर्थात् ११ वर्षभरि मैले केवल अढाई रुपैयाँका दुई जोर जुत्ता लगाउन पाएँ। मेरो आङमा लगाएको लुगाबाहेक मेरो अर्को फेर्ने लुगा थिएन। मैले स्कुलमा गरिब विद्यार्थीका लागि प्राप्त हुने साढे तीन रुपैयाँको छात्रवृत्तिले फी तिर्नुपथ्र्यो। भात दालको दुई छाक, (त्यो पनि कहिलेकाहीं अपर्याप्त) बाहेक खाजा भन्ने कुरो खान पाइनँ। टेढीमा (भागलपुर) मा बस्दाबाहेक दूध, घिउ देख्न पाइनँ। यी भनाइबाहेक शरीरमा रहेको घाउको अपरेसन गर्दा पैसा अभावले क्लोरोफार्म सुँघाउन नसकी बिनाक्लोरोफार्म गरिएको अपरेसन पीडाले बेहोस हुनुपरेको पीडाको वर्णन कम मार्मिक छैन।’ बीपीका यी भोगाइले उहाँले कुन अवस्था र कुनरूपमा आफ्नो बाल्यकाल जिउनुभयो भन्ने एकातर्फ दर्शाउँछ भने अर्कोतर्फ एउटा आदर्शको जीवन बाँच्ने जग निर्माण पनि त्यही बाल्यकालको अभावग्रस्त जीवनले निर्माण गर्‍यो भन्दा अन्यथा हुने छैन।
२००७ सालको क्रान्ति अर्थात् राजनीतिक परिवर्तनका प्रमुख नायक हुनुहुन्थ्यो बीपी। वरिष्ठ अधिवक्ता गणेशराज शर्माका शब्दहरूमा ‘उहाँको राजनीतिक अनुभव विदेशी आधिपत्यका विरुद्ध भारतको मुक्ति संघर्षमा संलग्न हुँदा खारिएका थिए। भारतीयका लागि त्यो राष्ट्रिय स्वाधीनताको संघर्ष थियो भने बीपी कोइरालाका लागि त्यो मानवाधिकारका लागि लडिएको मानवतावादी आन्दोलन थियो। उहाँको वैचारिक आधार भारतीय परम्परामा विकसित गान्धीवादी नभई युरोपका औद्योगिक प्रजातन्त्रद्वारा प्रेरित प्रजातान्त्रिक समाजवाद थियो। नेपालको राजनीतिमा सक्रिय हुनुभन्दा पूर्वका गतिविधिबाट उहाँको अन्तर्राष्ट्रियवादी दृष्टिकोण परिमार्जित भइसकेको थियो।’ विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक मित्रराष्ट्र भारतको स्वतन्त्रता आन्दोलनमा बीपीको सहभागिता र त्यसमा उहाँले पुर्‍याउनुभएको योगदानका कारण राष्ट्रवादी भारतीयको नजरमा नेपालीको इज्जत र प्रतिष्ठा बढाउन समेत उहाँको महत्त्वपूर्ण योगदान छ। २००७ सालको परिवर्तन युगान्तकारी थियो। त्यस परिवर्तनपछि मात्र नेपाल देशबाट राष्ट्र बन्ने प्रक्रियाको थालनी भयो।
त्यस परिवर्तनका सम्बन्धमा स्वयम् बीपीले भन्नुभएको छ, ‘२००७ सालको क्रान्तिको महत्त्व ठूलो छ। सायद नेपालको इतिहासमै पहिलोपटक जनताबाट एउटा सामूहिक प्रयास गरियो। मेचीदेखि महाकालीसम्म तराई, पहाड र उपत्यकाका अनेक जाति, वर्ण र धर्मावलम्बीहरूले सामूहिक रूपमा आवाज उठाए। एउटा सशक्त देशव्यापी भावना जागृत भयो र राष्ट्रियताको उदय भयो। राष्ट्रियताको विकासका सन्दर्भमा २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो भन्न सकिन्छ। त्यसभन्दा पहिले नेपाली जनताले देशव्यापी रूपमा एउटै भावनामा बाँधिएर कुनै कार्य सम्पादन गरेका थिए ? यसले नेपाल नेपालीको हो भन्ने भावना पनि जागृत गरायो।’
त्यसैले २००७ सालको परिवर्तनले सिर्जना गरेका आधार र त्यसले स्थापना गरेको राज्य व्यवस्थासम्बन्धी मूल्यमान्यताका सम्बन्धमा स्वयम् बीपीले भन्नुभएको छ, ‘सन् १८१६ सालपछि नेपाल देश त बन्यो नेपाल राष्ट्र बनाउने प्रयत्न भएन। शरीरको ढाँचा खडा भयो तर त्यसमा आत्मा आउन सकेन। देश र राष्ट्र भनेको भूगोल होइन, माटो होइन। त्यो यथार्थमा जनता हो। जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो।’ भन्नेजस्ता मान्यता राख्नुहुने बीपीले नेपाल देशलाई राष्ट्र बनाउने काममा महत्त्वपूर्ण योगदान दिनुभयो।
नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएका बीपीले आफ्नो प्रधानमन्त्री कालको छोटो समयमा पनि उहाँबाट सम्पन्न कार्य र लिइएका निर्णयले नेपाली समाजको रूपान्तरण र समग्र नेपाललाई आधुनिक युगका मूल्य मान्यतातर्फ उन्मुख गराउन महत्त्वपूर्ण साबित भयो। विशेषगरी नेपाललाई एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय जगत्मा उभ्याउने काममा उहाँको महत्त्वपूर्ण योगदान रह्यो। मित्रराष्ट्र भारत र चीनसँग समानताका आधारमा स्थापित गर्नुभएका सम्बन्ध, पाकिस्तान र इजरायललाई राष्ट्रका रूपमा मान्यता दिने कार्य, संयुक्त राष्ट्रसंघको महासभामा उहाँले सम्बोधन गर्दा व्यक्त विचार र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा उहाँले पुर्‍याउनुभएको योगदानबाट नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माणमा उहाँको भूमिका निर्णायक रह्यो।
बीपीको राष्ट्रवादी अडान, नेपाललाई एउटा स्वतन्त्र राष्ट्रका रूपमा सञ्चालन गर्न खोज्ने र त्यहीअनुरूपका निर्णय लिने उहाँका व्यवहार र अन्तर्राष्ट्रिय जगत्मा स्थापित हुँदै गएको उहाँको व्यक्तित्वलाई सहन नगर्ने बाह्य शक्तिकै सहयोग र सल्लाहमा राजा महेन्द्रबाट २०१७ साल पुस १ गतेको कदम चालिएको थियो। बीपीको विचारमा पुस १ गतेको घटनाले आन्तरिक राजनीतिमा विदेशी शक्तिलाई आजपर्यन्त निरन्तर रूपमा खेल्ने अवसर दियो।
उहाँको विश्लेषणमा आधारित निष्कर्ष थियो– त्यस घटनापछि प्रजातान्त्रिक शक्तिहरू मात्र होइन, राजा पनि कमजोर भए र सम्पूर्ण राष्ट्र नै कमजोर भयो।
२०१७ साल पुस १ गतेको घटना र त्यसका परिणामबाट सबभन्दा बढी दण्डित र पीडित हुनु भएको बीपीका त्यसप्रति विवेचना र अवधारणाको बढी महत्त्व रहिरहनेछ। बीपीले भन्नुभएको छ– पुस १ गतेको घटनापछि प्रजातन्त्र मात्र समाप्त भएन, राजा पनि कमजोर भए र विदेशी शक्तिलाई त्यस घटनाले यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्ने अवसर दियो। यो उहाँको गम्भीर अध्ययन र अनुभवबाट आधारित अन्तिम निष्कर्ष थियो। वरिष्ठ अधिवक्ता गणेशराज शर्माका शब्दहरूमा भन्दा ‘यथार्थमा, त्यस घटनाको विदेशी सूत्रधार र केन्द्रविन्दुलाई यति धारिलो र स्पष्टताका साथ अभिव्यक्त गर्न सक्ने चेतना र नैतिक सामथ्र्य यस देशको अरू कुनै राजनीतिक नेतामा देखिएन।’ पुस १ गतेको घटनापछि पनि आफू बन्दी जीवनमा रहँदासमेत राष्ट्रियताको प्रवद्र्धन र प्रजातन्त्रको सुदृढीकरणमा उहाँले राजाको भूमिकालाई सदैव महत्त्व दिनुभयो। त्यस सन्दर्भमा उहाँको भनाइ थियो, ‘मेरो अझ पनि विश्वास छ– व्यक्तिगत दृष्टिबाट मलाई जतिसुकै कष्ट पुगेको होस् अथवा मेरो आस्थामा जत्रो ठूलो चोट पुगेको होस्, पुस १ को घटनाले ममाथि जस्तो ठूलो विश्वासघात गरिएको होस् कि देशमा राजा र संसद् दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता छ।’
यी भनाइले के देखाउँछ भने आफ्नो दुःखकष्टको पर्वाह नगरी र व्यक्तिगत बदलाको भावनाबाट माथि उठी आन्तरिक शक्तिहरूको मेलमिलाप र आपसी सहयोगमा मात्र मुलुकको हित संवद्र्धन हुन सक्छ भन्ने मान्यता राख्ने बीपीजस्ता राजनेताहरू मानव इतिहासमा विरलै मात्र देख्न पाइन्छ।
२०१७ साल पुस १ गतेदेखि २०२५ सालसम्म बिनाकारण, बिनाअपराध र कुनै अदालती प्रक्रियाबिना जुनरूपमा बीपीले बन्दी जीवन बिताउनुपर्‍यो, त्यस अवधिमा उहाँले भोग्नुपरेको शारीरिक, मानसिक कष्ट र त्यस भयावह अवस्थाको अनुमान जोसुकैले पनि गर्न सक्छ। तर, युगपुरुषहरूको यस प्रकारको कष्टपूर्ण भोगाइ पनि राष्ट्रको चेतनाको विकास, इतिहास निर्माण, न्याय र स्वतन्त्रता स्थापना र राष्ट्रिय स्वाधीनता रक्षाका सन्दर्भमा युगौंयुगसम्म सम्पूर्ण मानव जातिका लागि प्रेरणाका रूपमा रहन्छन्। आफू जेलमा रहँदासम्म पनि बीपीले त्यो कालखण्डलाई खेर फाल्नुभएन। त्यस कालखण्डको बन्दी जीवनमा उहाँले सिर्जना गर्नुभएका साहित्यिक कृतिहरूले नेपाली साहित्यको श्रीवृद्धिका लागि अमूल्य छन् र रहिरहने छन्। त्यही बन्दी जीवनमा रचिएको एउटा रचनामार्फत उहाँले ‘ठूलो मानिस होइन असल मानिस’ मा जोड दिनुभयो। जुन कुरा विश्व शान्ति र मानवीय समाज निर्माणका लागि महत्त्वपूर्ण सन्देश हो। त्यसैगरी त्यही अवधिमा उहाँले लेख्नुभएका र पछिबाट प्रकाशित भएको जेल जर्नल र फेरि सुन्दरीजल नेपाली राजनीतिक साहित्यका अमूल्य निधिका रूपमा रहि नै रहनेछन्।
बीपीले आफ्नो आठ वर्षको निर्वासन जीवनमा कसरी बाह्य शक्ति नेपालको प्रजातान्त्रिक शक्ति र परम्परागत शक्ति (राजा) लाई एकअर्काविरुद्ध जुधाएर नेपालको राष्ट्रियता र प्रजातन्त्रको आन्दोलनलाई कमजोर बनाउँदै छन्। तत्कालीन शीतयुद्धको अवस्थामा साना राष्ट्रहरूको राष्ट्रिय अस्तित्व नै समाप्त हुने अवस्था कसरी बन्दै छ भन्ने विषयको विश्लेषणका आधारमा नेपालको राष्ट्रिय अस्तित्व रक्षा र प्रजातान्त्रिक आन्दोलनको सुनिश्चित भविष्य केवल प्रजातान्त्रिक र परम्परागत (राजा) शक्तिहरूका बीचको मेलमिलापमा मात्र सम्भव छ भन्ने विश्वासमा जब उहाँ पुग्नुभयो, त्यसपछि नेपालको अस्तित्व नै संकटमा परेको देखेपछि राष्ट्रिय एकताको आह्वानका साथ २०३३ साल पुस १६ गते स्वदेश फर्किनुभयो। बीपीको उक्त निर्णयका सम्बन्धमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले भन्नुभएको छ, ‘पुस १६ गतेको महत्त्व नेपालमा राष्ट्रिय मेलमिलापको दिनका रूपमा रहने हो वा त्यस राष्ट्रिय भावनाको अग्निपरीक्षाका लागि उहाँले कारागारको बन्दी मात्र होइन, मृत्युदण्डका सम्भावनालाई पनि स्वेच्छाले वरण गरेको दिनका रूपमा रहने हो भन्ने निष्पक्ष विवेचनापछिको इतिहासकार र राजनीतिक विश्लेषकहरूकै जिम्मामा रहनेछ।’

नागरिक जबसम्म म, मेरो परिवार, मेरो गाउँ र घरखेत भन्ने संकीर्ण भावनाभन्दा माथि उठेर सामूहिक रूपबाट हाम्रो देश, हाम्रो विकास, हाम्रो उन्नति भन्ने आदर्शले प्रेरित हुँदैनन् तबसम्म नयाँ नेपाली समाज पनि बन्न सक्दैन।

मेलमिलापकै नीतिका कारण २०३६ सालमा जनमत संग्रह घोषणा भयो। जनमत संग्रहको नतिजा जेजस्तो भए पनि त्यसले देशमा बहुदलीय शासन व्यवस्थाका पक्षमा बलियो जनमत रहेको स्थापित गर्‍यो। जनमतसंग्रहको निर्णय आफ्नोविरुद्धमा हुँदा समेत जसरी त्यस नतिजालाई ‘अप्रत्याशित निर्णय भए पनि म त्यसलाई स्वीकार गर्छु’ भन्ने आँट र इमानदारी जसरी र जस्तो अवस्थामा उहाँले देखाउनुभयो, त्यो राजनीतिक संस्कृति र इमानदारीको बिरलै देखिने उदाहरण थियो।
दुर्भाग्य २०३९ सालमा बीपी कोइरालाको देहावसानपछि नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलापको नीतिमा अड्न सकेन। आज फर्केर हेर्दा बीपीको देहावसानपछि पनि कांग्रसले निष्ठा र धैर्यका साथ राष्ट्रिय मेलमिलापको नीतिमा अडिग रहन सकेको भए चौथो संशोधनबाटै प्राप्त हुन सक्ने प्रजातान्त्रिक वातावरणका लागि २०४६ को पहिलो जनआन्दोलन आवश्यक पर्ने थिएन कि ? राष्ट्रिय सहमति र मेलमिलापका आधारमा नेपालको संवैधानिक पद्धतिको विकास र विस्तार भएको देख्न नचाहने शक्ति अर्थात् नेपालको राजनीतिक व्यवस्थापनलाई आफ्नोअनुकूल पार्ने प्रयासमा रहेको बाह्य शक्तिले २०४६ को आन्दोलनको प्रयोजनद्वारा एकातर्फ आफ्नो उक्त उद्देश्यमा सफलता प्राप्त गर्‍यो भने अर्कोतर्फ आन्तरिक सहमतिमा हुन सक्ने दिगो संवैधानिक पद्धतिको विकास र विस्तारको प्रक्रियालाई बिथोल्न पनि सफल भयो।
कांग्रेसको भविष्यको चिन्ता गर्दै उहाँले एक ठाउँमा भन्नुभएको छ, ‘जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्नेछ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरूलाई छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ।’
विकास र त्यसका प्रक्रियाका सम्बन्धमा उहाँका भनाइहरू आजपर्यन्त असाधारण महत्त्वका छन्। त्यस सन्दर्भमा उहाँले भन्नुभएको छ, ‘हामीले उत्पादनका साधनहरूको विकास गर्दै औद्योगिक समाज निर्माणद्वारा जनताको जीवन स्तर उठाउने उत्तरदायित्व बहन गर्नुपरेको छ। यो असाधारण जिम्मेवारी हो। केही कालसम्म राष्ट्रको सम्पूर्ण शक्ति लगाएर अविच्छिन्न रूपले विकासको यस भगीरथ प्रयत्नमा जोतिनुपरेको छ। नेपालको विकासको आधारबारेमा उहाँको थप भनाइ छ, ‘जनताको गहिरो अभिरुचि भएका उपयुक्त राजनीतिक संस्थाहरूको अभावमा आर्थिक विकास सम्भव हुँदैन।
प्रजातन्त्रले देश निर्माणका लागि जनताको सम्पूर्ण हृदयदेखि सहयोग प्राप्त हुन सक्ने भएकाले पनि म प्रजातन्त्रप्रति आस्था राख्छु।’ विकासकै सन्दर्भमा उहाँले अर्को ठाउँमा भन्नुभएको छ, ‘विकास एउटा प्राविधिक प्रक्रिया मात्र होइन, यो एउटा राजनीतिक प्रक्रिया हो। यथार्थमा विकास तब मात्र हुन्छ जब त्यहाँ ‘ह्युमन एजेन्सी’ हुन्छ।’ नेपालको विकास र राष्ट्रिय भावनाको अन्तरसम्बन्धका बारेमा बीपीले भन्नुभएको छ, ‘देशका तमाम नागरिक जबसम्म म, मेरो परिवार, मेरो गाउँ र घरखेत भन्ने संकीर्ण भावनाभन्दा माथि उठेर सामूहिक रूपबाट हाम्रो देश, हाम्रो विकास, हाम्रो उन्नति भन्ने आदर्शले प्रेरित हुँदैनन् तबसम्म नयाँ नेपाली समाज पनि बन्न सक्दैन। राष्ट्रियताको भावनाले ओतप्रोत भएका नागरिकहरू देशको उन्नतिका लागि हरकिसिमले त्याग र तपस्या गर्न तत्पर हुन्छन्। देशको प्रजातान्त्रिक प्रक्रियालाई सुदृढ गराएर मात्र राष्ट्रियताको भावनालाई सुदृढ गराउन सकिन्छ।’
बीपीले आफ्नो अन्तिम मन्तव्यमा भन्नुभएको छ, ‘हामी बडो अप्ठ्यारो परिस्थितिमा छौं। त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले यो देशलाई जोगाउन सक्छन्, तिनीहरूसँग हामीले वैमनस्यको सम्बन्ध राख्नु हँुदैन। मैले भनेको कुरालाई पार्टीले मान्यो भने हाम्रो पार्टी र नेपालको पनि भविष्य छ।’ नेपालको भविष्यबारेमा अर्को एक ठाउँमा उनले भनेका छन्, ‘मेरो अगर देन केही छ भने यो देशको सामथ्र्य बुझेर मैले आफ्नो कुरा भनेको छु। जब मैलेभन्दा त्यति मान्छे जेल गए, एउटा आदर्शका कुराका लागि त्यतिका मान्छेले प्राण त्यागे, त्योभन्दा ठूलो शक्ति के रहेछ यस देशमा त्यसलाई जीवित राख्ने। ती विदेशीले जस्तोसुकै हत्याकाण्डको लहर यहाँ ल्याउँछन्, ल्याउँछन् तर हाम्रो देश रहन्छ, रहन्छ।’
—भट्ट संवैधानिक कानुनका जानकार हुन्।
अन्नपूर्णपोष्टबाट साभार

nema
Show More

Related Articles

Back to top button