breakingनेपाली कांग्रेसविचार

सहकारी, समाजवाद र वी.पी विचार

—रेवती प्रसाद भुसाल
सहकारी
नेपाली भाषामा ‘सहकारी’ सहंकार मिलेर बनेको संयुक्त शब्द हो । ‘सह’को अर्थ साथसाथै, संगसंगै हुन्छ भने ‘कार’को अर्थ कार्य,काम हुन्छ । संगसंगै काम गर्नुनै सहकार वा सहकार्य हो । यस्तो सहकार्य गर्नको लागि स्थापित संस्थानै सहकारी संस्था हो । सहकार्यको गहिराईमा पुग्ने हो भने यसको सुरुवात आधुनिक मानव समाजको विकास संगसंगै भएको छ, किनभने सहकार्य वा सहयोगको भावना बिना समाज चलायमान हुन सक्दैन । यध्यपी सन १७६९ मा स्थापना भएको Fenwick Weavers society लाई पहिलो दस्तावेजिकृत भएको उपभोक्ता सहकारी मानिन्छ । जुन बेलायतको फेनरिक गाउँमा स्थापित भएको थियो । त्यसपछिका विभिन्न समयमा सहकारीहरु सन्चालन हुने र पछि असफल हुने क्रम चलिरहेको देखिन्छ । सन १८४० सम्म आइपुग्दा धेरै सहकारीहरुको अस्तित्व लोप भएपनि सन १८३२ मा स्थापना भएको Heart of England co—operative society  र सन १८३९ मा स्थापित Gala shield & Hawiyck  दुबै मिलेर बनेको हालको The Cooperative group  अहिलेसम्म पनि सञ्चालनमा छ । यसका विभिन्न देशहरुमा विभिन्न नाम र रुप हुनसक्छन् , जस्तो नेपालमा परम्परादेखि चलिआएको गुठी, पर्म आदि रुपमा सहकार्य भएको देखिन्छ । तर आधुनिक सहकारीताको संगठित रुप भने ब्रिटेनका सुधारवादी भावना भएका र काल्पनिक आदर्शवादी समाजवादी  (Utopian socialist ) Robert Owen  हुन् । जसले १९ औैँ शताब्दीको सुरुवाततीर पहिले बेलायतको स्कटल्याण्डमा स्थापना गरे । यसको सफलताबाट उत्साहित Owen ले Villages Of Cooperation  (सहकारी गाउँहरु ), बेलायतकै स्कटल्याण्डको Orbiston  भन्ने गाउँमा र अमेरिकाको Indiana राज्यको New Harmony गाउँमा स्थापना गरे । तर दुबै गाउँ सहकारी असफल हुन पुगे । Village  Cooperatives  असफल हुनुमा तिनीहरुमा निजी स्वामित्वको अभावलाई प्रमुख कारण मानिन्छ । गाउँ सहकारीहरु असफल भएतापनी उपभोक्ता सहकारी लगायतका विभिन्न सहकारीहरु भने विकसित हुँदै आजको अवस्थामा आइपुगेका छन् । अहिले विश्वभरमा करिब २६ लाख सहकारीहरु रहको मानिन्छ ।
नेपालमा सन १९५६ मा कृषि मन्त्रालय अन्तरगत सहकारी विभागको स्थापना भएपछि आधुनिक सहकारीको सुरुवात भएको देखिन्छ । सरकारको कार्यकारी आदेशबाट गठन र सञ्चालन भएका यस्ता सहकारीहरुलाई सन १९५९ मा तत्कालिन वी.पी कोइरालाको निर्वाचित सरकारले सहकारी ऐन बनाएपछि मात्र कानुनीरुपमा संगठित भएको देखिन्छ । निर्वाचित सरकार छोटो समयमानै राजाबाट अपदस्त भयो र सहकारीको उचित विकास हुन सकेन । पञ्चायतमा पनि सहकारी ऐन संसोधन हुँदै आयो । तर तत्कालिन अवस्थाका सहकारीहरु ऋण सहकारी मात्र थिए र पूर्णतः सरकारको नियन्त्रण र निर्देशनमा चल्दथे । सन १९९२ मा सहकारी ऐन लागु भएपछि मात्र स्वतन्त्र रुपमा सहकारी संस्था संगठित र सञ्चालित हुने अवस्था सृजना भयो । फलस्वरुप हालसम्ममा करिव ३५ हजार सहकारी नेपालमा सञ्चालनमा छन् । यी सहकारीहरुमा धेरै वचत तथा ऋण सहकारी र अन्यमा बहुउदेश्यीय सहकारी, दुग्ध सहकारी, कृषि सहकारी, फलफुल तथा तरकारी सहकारी, मौरीपालन सहकारी, चिया , कफी, उपभोक्ता र विज्ञान तथा प्रविधि सहकारी रहेका छन् । विश्वास गरिन्छ कि यी सहकारीहरुले करिव ६० हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
सहकारी र प्रजातान्त्रिक समाजवाद
सहकारी र समाजवादको संवन्ध Robert Owen बाट सुरु भएको छ । Owen भन्दा पनि पहिले क्ब Saint Simon  ले समाजवाद शब्दको प्रयोग गरेका छन् । उनले तत्कालीन बेलायतको Liberal Individualism विसमता , सामाजिक विभेद, र गरिवीको समस्यालाई समाधान गर्न असफल भएको र यी समस्याको समाधानको विकल्प समाजवाद मात्र भएको भनी ब्याख्या गरे । Saint Simon / Robert Owen  मा फरक यो रह्यो की Simon ले जहाँ आर्थिक योजना, बैज्ञानिक प्रशासन र समाजमा आधुनिक प्रविधिको प्रयोगको कुरा गरे भने Owen ले उत्पादनका साधन र संगठनको स्वामित्व सहकारीमा हुनुपर्ने कुराको वकालत गरे । समाजवाद शब्दको प्रयोग र ब्याख्या माक्र्स, लेनिन, स्टालीन, र माओत्सेतुङले एक किसिमले र सेन्ट साइमन, रवर्ट ओवेन , चाल्र्स फुरिए , तथा एसियन चिन्तक मानवेन्द्र राय , आचार्य नरेन्द्र देव , जयप्रकाश नारायण, वी.पी कोइराला, अच्युत पटवर्धन, राममनोहर लोहिया ले अर्को किसिमले गरेका छन् । प्रजातान्त्रिक समाजवादको धेरै विश्लेषण नगरिकन अहिले यसमा वी.पी कोइरालाले आफ्नो जीवनको उत्तराद्धतीर आइपुग्दा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद वा साम्यवादसँगको प्रजातान्त्रिक समाजवादको भिन्नताको वारेमा संक्षिप्त र सटिक उक्ति ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ’ यतिमात्र भन्नु उचित होला ।
प्रजातान्त्रिक समाजवादको मुलभूत सिद्धान्त , राजनीतिक , आर्थिक, साँस्कृतिक, धार्मिक लगायत जीवनका हरेक क्षेत्रमा समता हुनुपर्दछ भन्ने हो । यहाँ समताको अर्थ अवसरको समानता र त्यो अवसर प्राप्त गर्न असमर्थ हुने पक्षलाई राज्यबाट गरिने विशेष ब्यवस्थाबाट समर्थवान बनाउनु हो । आर्थिक बाहेकका अरु स्वतन्त्रता वा समता एक पटक ब्यवस्था गरेपछि त्यसमा अन्य कुनै ब्यवधान नआउँदासम्म प्राप्त भैरहन्छन भने आर्थिक समताको कुरा निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले त्यो प्राप्तीका लागि विशेष ब्यवस्था र माध्यमको आवश्यकता पर्दछ । यो संग धेरै कुरा जोडिएका हुन्छन । देशको आर्थिक अवस्था, पूर्वाधारको विकास , उद्योग, कलकारखाना, यातायात , विद्युत, उत्पादन, वितरण आदि । यी सबको विकास र उचित ब्यवस्थापनको माध्यमबाट मात्र जनताको सर्वतोमुखी विकास अर्थात समृद्धि प्राप्त हुन्छ । त्यसको लागि सहकारीताको विकासनै उचित , दिगो, भरपर्दो र न्यायपूर्ण हुन सक्दछ । शब्दको भावको रुपमा पनि सहकारीता र समाजवादमा निकटको संवन्ध छ । दुबैको भाव गत अर्थ सहयोग र सहअस्तित्व हो । पूजिवादको जननी ब्यक्तिवाद हो भने साम्यवाद राज्य पूजाीवाद हो,जहाँ एउटा सिमित नयाँ बर्गको हैकम चल्दछ । यो दुबैको विकल्प प्रजातान्त्रिक समाजवाद हो ।
सुरुमै उल्लेख भएको छ कि सहकारीता र समाजवादको सुरुवात रोवर्ट ओवेनबाट सुरु भएको छ । ओवेनले गाउँ सहकारी भनेर स्थापना पनि गरे , प्रयोग गरे । तर त्यो असफल भयो । मूल कारण थियो, गाउँ सहकारी संगठनमा ब्यक्तिको निजी स्वामित्वको अभाव । आज सहकारी आन्दोलनले धेरै विकास गरेको छ । ओवेनको प्रयोग र आजको सहकारी आन्दोलनमा धेरै भिन्नता आइसकेका छन् । निजत्वलाई कायम राख्दै सहकारीताको विकास गरिएको छ । साना—साना सहकारी देखी ठूला बैैँकसम्मको सञ्चालन सहकारीबाट भएका छन् । त्यसैले आजका सहकारीहरु समाजवादको लक्ष्य अर्थात निम्न आर्थिक अवस्थाका जनताको उत्थान र राष्ट्रिय अर्थतन्त्रको निर्माणको लािग समर्थ बनेका छन् ।
सहकारी, समाजवाद र वि.पी विचार
नेपालमा सहकारीको विकास नेपाली काँगे्रसको सरकारको समयमा भएको छ । पहिलो सहकारी ऐन २०१५ सालमा निर्वाचित वि.पी कोइराला नेत्रृत्वको नेपाली काँगे्रसको सरकारले २०१६ सालमा बनायो र लागु ग¥यो । तर नेपाली काँगे्रसको सरकारलाई राजाले २०१७ मा अपदस्त गरेपछि यसको उचित विकास हुन सकेन । पञ्चायती शासनमा पटकपटक ऐनमा संसोधन गरिएतापनि यो मूलतः सरकारी नियन्त्रण र निर्देशनमा केवल ऋण दिने संस्थाको रुपमा रह्यो । २०४६ सालको जनआन्दोलन र बहुदलीय ब्यवस्थाको स्थापना पश्चात २०४८ मा निर्मित नेपाली काँगे्रसको सरकारले सहकारी ऐन र सहकारी नियमावली बनाएपछि नेपालका सहकारीहरुलाई सहकारीका मूल्य ,मान्यता र सिद्धान्तलाई ब्यवहारमा लागु गर्न र सहकारी संस्था र सहकारी संघलाई वैधानिकता प्राप्त गर्ने अवसर प्राप्त भयो । दोस्रो जनआन्दोलन पश्चात २०७२ मा नेपाली काँगे्रस नेत्रृत्वको सरकारको समयमा बनेको नेपालको संविधानले नेपालमा सार्वजनिक , निजी र सहकारीको माध्यमबाट आर्थिक विकास गर्ने भन्ने तीन खम्बे आर्थिक निती लिदै सहकारीलाई संवैधानिक रुप प्रदान गर्ने काम गरेको छ ।
वी.पी कोइराला लगायतका नेपाली काँगे्रसका नेताहरु प्रारम्भदेखिनै समाजवादी चिन्तनबाट अघि बढ्नुभएको र २००७ सालको क्रान्ती गर्नुभएको थियो । २०१२ सालको विरगंज अधिवेशनबाट नेपाली काँगे्रसले विधिवत रुपमा आफ्नो सिद्धान्तमा समाजवादलाई अंगिकार ग¥यो । वि.पी कोइरालाका लागि समाजवाद पश्चिमी युरोपतीरका केही देशको जस्तो देखाउने गहना मात्र थिएन । नत पूर्वी युरोपको जस्तो जनतालाई अधिकार विमुख बनाई कज्याउने साधन मात्र । वी.पी कोइराला समाजवादलाई आर्थिक विकासद्धारा देशको पछौटेपनबाट मुक्ती , जनताको अति निम्न जिवनस्तरमा सुधार गरि मध्यम वर्गीय स्तरमा पु¥याउने र भयमुक्त उन्नत संवृद्ध नेपाली समाज सिर्जना गर्ने मार्गदर्शक सिद्धान्त वा अर्थ राजनीतिको रुपमा बुझ्नुभएको थियो । वि.पीको नेपाली काँगे्रस बहुलवादमा आधारित प्रजातन्त्रलाई जनताको सार्वभौम अधिकार मान्दछ भने विपन्न , निरुपाय तथा निम्तस्तरका जनताप्रति राज्यको दायित्व छ र उनीहरुलाई सहयोग गर्नु पर्दछ भन्ने मान्दछ । यो कार्य न त पूजीवादबाट सम्भव छ न माक्र्सवाद, लेनिन माओवादहरुबाट सम्भव छ । नेपाली काँगे्रस साना र मध्यम खालका उद्योग तथा गाउँमुखी अर्थब्यवस्थाबाट मात्र नेपालको विकास र नेपाली जनताको उन्नती हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । त्यसैले नेपाली काँगे्रसका सिद्धान्तकार जननायक वी.पी कोइरालाले एसियन प्यासिफिक समाजवादी सम्मेलनमा सन १९८१ मा ‘ हामीलाई अमेरिकाको हेनरी फोर्डको नमुना चाहिँदैन र विकासको पहिलो सर्त प्रजातन्त्र हो ’ —भनेर भन्नु भयो । त्यसैले नेपाली काँगे्रस साना र मध्यम खालका उद्योगहरुको विकास र कृषि क्षेत्रको विकासबाट मात्र नेपालको विकास हुन सक्दछ भन्ने कुरामा विश्वास राख्दछ । यसको लागि उपयुक्त माध्यम सहकारीनै हो ।
यद्यपी नेपालमा धेरै सहकारीहरु सञ्चालित छन् । तर ती अधिकांश शहरी क्षेत्रमा मात्र क्रियाशिल छन् । अधिकांशले वचत तथा ऋण सहकारीको काम मात्र गरेका छन् । आजको आवश्यकता बेरोजगार तथा विदेशमा कठिन परिश्रम गरेको युवा शक्तिलाई देशमानै रोजगार वा स्वरोजगार उपलब्ध गराउने र अहिले उपेक्षीत रहेको कृषि क्षेत्रको विकास गर्नु हो । परम्परागत कृषि अव असान्धर्विक हुँदै गएको छ । आधुनिक र ब्यवसायीक कृषि गर्न खण्डिकृत जग्गामा सम्भव छैन् । थोरै जग्गामा गरिने कृषिले कृषकको लागत पनि नउठने अवस्था भएको छ । अर्कोतर्फ ब्यक्तिगत रुपमा खेती गर्दा बजार प्राप्त गर्न हुने कठिनाईले विचौलियाले मात्र फाइदा पाउने , वास्तविक कृषकसँग फाइदा नपुग्नाले कृषिप्रति कृषकनै निरुत्साहित छन् । यसको उपयुक्त विकल्प सहकारीनै हो । युवाहरु स्वदेशमा कामको उपलब्धता नभएकाले विदेसिएका छन् । घरमा भएका परिवार तिनै विदेसिएकाको आम्दानीमा परनिर्भर बनेका छन् । काम गर्ने संस्कृति पनि हराउँदै गएको छ । यसले समाजमा थुप्रै विकृति जन्माएको छ । पारिवारिक जीवननै विघटित भैरहेको छ । सहकारीको माध्यमबाट कृषी ,उद्योग, फलफुल पशुपालन आदिमा ती युवा जनशक्तिलाई लगाउने हो भने देशको आर्थिक अवस्थामा पनि दूरगामी प्रभाव पर्दछ । आज विप्रेषण यति बढ्यो भन्दै सरकार वा राष्ट्र बैँकले गौरवका साथ उल्लेख गर्दछन् । तर त्यो विप्रेषणको अधिकांश हिस्सा विदेशी वस्तुको आयातमानै खर्च भएको देख्दैनौैँ । यहाँ उत्पादन बढाएर आयात प्रतिस्थान गर्ने र निर्यात प्रवद्धन गर्ने हो भने त्यसले विप्रेषणले भन्दा कयौैँ गुणा फाइदा पु¥याउँदछ भन्ने सायद राष्ट्रका निती निर्माताहरुमा सदविवेक आएको छैन । देश हामी सबैको हो । यसको निर्माणमा सम्पूर्ण नेपालीको भूमिका छ र हुनु पर्दछ । त्यसैले सरकारले गरेन भन्नु भन्दापनि हाम्रो तर्फबाट हामी के गर्न सक्दछौैँ भन्नेतर्फ हामीले सोच केन्द्रित गर्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा वि.पीको एउटा विचार यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । २००८ सालमा वि.पी धनकुटाको भ्रमणमा रहेका बेला त्यहाँको एउटा गाउँमा उर्जावान युवायुवतीहरुको एउटा समूह बनाउने त्यसमा प्राविधिकहरु इन्जिनियर , डाक्टर, ओभरसियर, कृषि बैज्ञानिक, सामान्य चिकित्सक , आदि सबैलाई एउटै भूगोलमा पुर्नवास गराई एउटा नमुना गाउँको विकास गर्ने , त्यहाँ शिक्षा, स्वास्थ्य, कृषि, आदि लगायत जीवनका न्युनतम आवश्यकताहरु स्वयम त्यहि समूहले उत्पादन तथा उपयोग गर्ने । यस्तै एउटा गाउँको विकास गर्ने सोच बनाउनुभएको थियो र भन्नुभएको थियो—‘यस्तो कार्य हामीले मन्त्री भएर गरेका ठूलाठूला गफ भन्दा धेरै उत्कृष्ट हुनेछ’ ।
नेपाली काँगे्रस वि.पीको अर्थ राजनीति , विचार कार्यान्वयन गर्ने एउटा माध्यम हो । तसर्थ नेपाली काँगे्रस एकाधिकारवादी पूजीवाद तथा राज्य पूजीवादमा आधारित सर्वसत्तावादी साम्यवाद दुबै प्रणालीसँग असहमत छ । राजनीति र अर्थ नीति संगसंगै जाने विषय हुन । हामी विकेन्द्रित आर्थिक र राजनीतिक प्रणालीमा विश्वास गर्दछौैँ । जनता सम्पूर्ण अधिकारबाट सुसज्जित हुनु पर्दछ , तव मात्र राष्ट्र संवृद्ध हुन्छ भन्ने मान्यता नेपाली काँगे्रसको हो । संवृद्धि कोरा आर्थिक कल्पना र नारामात्र होइन । एक्लो प्रयास र निर्देशित सिद्धान्तबाट संवृद्धि प्राप्त गर्न सकिदैन । त्यसैले देशको सर्वोतोमुखी विकासको निमित्त सहकारी महत्वपूर्ण साधन हुन सक्दछ भन्ने कुरामा नेपाली काँगे्रस विश्वास राख्दछ । संविधानमा तीन खम्बे नीति अंगिकार गरिएको छ । तर सहकारीले उचित भूमिका खेल्न पाएका छैनन् । जवसम्म सहकारीहरु गाउँमुखी हुँदैनन् र तीनमा गाउँका दलित , महिला वा उपेक्षित र निम्न वर्गका जनताको सहभागी हुँदैन, सहकारीको वास्तविक उपादेयता हुन सक्दैन । यसको लागि राज्यको उत्पे्ररणा र प्रोत्साहनको पनि आवश्यकता पर्दछ । वर्तमान सरकारले त्यो गर्ला वा नर्गला तर हामीले हाम्रो तर्फबाट गर्न सक्ने कार्य गर्न प्रयत्न गर्नु पर्दछ । यहीनै वि पी को आर्थिक दर्शनको सार हो ।
लेखक नेपाली काँगे्रसका पूर्व केन्द्रिय सदस्य हुनुहुन्छ

nema
Show More

Related Articles

Back to top button