breakingसमाचारनेपाली कांग्रेस

बैठकमा चियासम्म खान पाईंदैन थियो, अहिले मासुभात हुन्छ : केबी गुरुङ

कांग्रेस केन्द्रीय समिति बैठक पार्टी भित्र कायम गुटवन्दीले विवादित भइरहेको छ । पार्टीमा कायम गुटवन्दी र लम्बिएको बैठकबारे पुराना कांग्रेस नेता चिन्तित छन् ।
यसै सन्दर्भमा पुराना कांग्रेस नेता एवं पूर्वमहामन्त्री कुलबहादुर गुरुङले केन्द्रीय समिति बैठकको अनुभव सुनाउँदै अघिल्लो पुस्ताले दुःखपूर्वक हुर्काएको पार्टीमा अहिले आदर्श र त्यागको भावना कमजोर भएको बताए ।
२००७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय गुरुङ, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्मले बोलाएको केन्द्रीय समितिको बैठकमा सरिक छन् । बैठकका उनको अलग–अलग अनुभव छन् । समय परिवर्तनसँगै पार्टीका नयाँ नेतृत्वले सञ्चालन गरेका बैठको साक्षी हुन् गुरुङ । ‘हाम्रो पालामा बैठकमा एककप चिया पनि खान पाइँदैनथ्यो । उल्टो हामीले पैसा तिरेर खुवाउनु पथ्र्यो’ कांग्रेस बैठकका पुराना दिन सम्झिँदै गुरुङले भने्, ‘अहिले टन्न खाजा र मासुभात हुन्छ ।’
अहिले भइरहेको बैठकका गतिविधि नियाल्दै आएका गुरुङलाई विवाद भए पनि देउवा, पौडेल, सिटौला र कोइराला सबै पक्ष मिलेर अघि बढ्ने विश्वास छ । गुरुङ केन्द्रीय कार्यसमतिको बैठकमा त्यत्ति जाँदैनन् । बैठकमा हुने क्रियाकलापले उनको ध्यान खिच्दैन । उपनिर्वाचनको समीक्षा गर्न पार्टीले २६ मंसीरमा बैठक बोलायो । उनी गए । आफ्ना भनाइ लिखितमै राखे । बैठक तोकिएको समयमा नबस्ने र विषयान्तर हुने छलफलप्रति उनी असन्ुतष्ट छन् । ‘बैठक ११ बजे बोलाइएको हुन्छ । २ बजेसम्म सुरु हुँदैन,’ उनले भने, ‘आज हुँदैन पनि भनिदिन्छन् ।’
सभापति देउवाले फोन गरेर राति १२÷१ बजेसम्म पनि मिटिङ गर्नुपर्ने भएकोले तपाईं बुढो मान्छेलाई दुःख नदिऊँ भनेर मैले केन्द्रीय कार्यसमितिमा राखिन् भनेको गुरुङ सम्झिन्छन् । केन्द्रीय समितिमा नहुँदा बैठकको दोष पनि नलाग्ने भएकाले ठिकै छ भनें ।
‘राति १२÷१ बजेसम्म बैठक गर्नुपर्ने काम के छ ? छ त्यसको कुनै तर्क ?’ राति हुने बैठकमा शंका हुने भन्दै गुरुङ बिहान, दिउँसो र बेलुकाको समयमा बैठक बस्नुपर्ने बताउँछन् ।
बैठकमा बोल्ने अवसर आउने वित्तिकै इतिहासदेखि सुरु गर्ने परिपाटी उनलाई झर्काे लाग्छ । ‘हामीकहाँ बोल्दा इतिहास सुरु गर्छन् । मैले यो बेलादेखि यस्तो गरें । यो बेला यस्तो भनेको थिएँ, उनी भन्छन्, ‘एक डेढ घण्टा एकजनाले बोल्दिन्छन् ।’ अहिले हुने बैठकमा देउवा र पौडेलबीच कुराकानी नहुने उनले बताए । ‘बैठकमा देउवा र पौडेलबीच केही कुरा हुँदैन,’ गुरुङ भन्छन्, ‘केही कुरा गर्नुपरे बाहिर जान्छन् । गोप्य नै बढी हुन्छ । त्यसैकारण पनि म बैठकमा जान्न ।’
पार्टीमा विधि, विधान, प्रणाली, पद्धति विपरित नेताहरू प्रस्तुत भइरहेकाले विवाद बढेको उनको भनाई छ । पार्टीभित्र सबैले अलग–अलग पार्टी चलाइरहेको उनी बताउँछन् । ‘सभापति देउवा, पौडेल, सिटौला र कोइराला पक्ष सबैले आआफ्नो ढंगले पार्टी सञ्चालन गरेका छन्’ उनले भने ।
पौडेल, सिटौला, कोइराला पक्षका नेता अनुपस्थित रहेको केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाले महाधिवेशनको कार्यतालिका, विभाग गठन र तरुण दलको मिति थपको निर्णयलाई उनी स्वभाविक ठान्छन् । भन्छन्, ‘जसको हातमा डाडूपन्यूँ छ, उसैले पार्टी हाँकेको छ । विधान अनुसार देउवाले सभापतिको अधिकार प्रयोग गरे । विधानभन्दा बाहिर गएनन् ।’
देउवाको निर्णयमा सहमति जनाउँदै उनी भन्छन्, ‘उनीहरूले जर्वजस्ती गराउनुपर्छ भन्छन् भने देउवाले पनि जर्वजसस्ती गर्न पाउँछन् नि ! तर्क त दुबैतिर हुनुप¥यो नि !’ पार्टीमा देखिएको विवादमा सबै पक्षले ‘कम्प्रोमाइज’ गरेर नै अगाडि बढ्ने गुरुङको विश्वास छ ।
@ www.nayapatrikadaily.com बाट साभार

nema
Show More

Related Articles

Back to top button