समाचार

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप,१ जनाको मृत्यु

३० जेठ, काठमाडौैँ
सर्लाहीको सीमा क्षेत्रमा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका छन्।सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताउनुभयो ।
आज बिहान नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ। पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको हो। त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए ।
 
हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको डीआईजी श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन्। त्यसक्रममा सशस्त्रले एक दर्जन हवाई फायर गरेको छ। उनीहरु नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य खुलेको छैन।

nema
Show More

Related Articles

Back to top button