वाग्मती प्रदेशवी पी विचार

बीपी, काङ्ग्रेस र चौधौँ महाधिवेशनको सेरोफेरो

डा. वासुदेव खनाल

दरबारिया मोजमस्तीमा रहेका तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले फाटेका दुई जोर कपडा पार्सल गरेर दरबारमा पठाएका कारण निर्वासित भएका आफ्ना पिता कृष्णप्रसाद कोइरालामा रहेको अदम्य साहस र उनको राजनीतिक चेतनाको प्रभाव उनका सबैजसो छोराछोरीमा परेको थियो । त्यो चेतना बीपी कोइरालामा अझ बढी फस्टाएको थियो ।

त्यो राजनीतिक चेतनालाई मूर्तरूप दिन एक्लै सम्भव छैन भन्ने कुरा बुझे । पार्टी स्थापना गरी त्यसको माध्यमबाट राष्ट्रिय चेतना अभिवृद्धि गर्नुपर्छ भन्ने निष्कर्षका साथ बीपी कोइरालाले २००३ सालमा भारतको कलकत्तामा आफ्नो नेतृत्वमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक राजनीतिक पार्टी स्थापना गरे । यस्तै, २००५ सालमा सुवर्ण शमशेरको नेतृत्वमा कलकत्तामै ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ स्थापना भएको थियो ।

समान उद्देश्यले स्थापित दुई पार्टीलाई एकीकरण गरी २००६ सालमा ‘नेपाली काङ्ग्रेस’ स्थापना भएको हो । यसरी स्थापित नेपाली काङ्ग्रेस पार्टी नेपालमा प्रजातन्त्र स्थापना गर्ने आफ्नो उद्देश्य पूरा गर्न एक वर्षभित्रै सफल भयो, फलस्वरूप २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भयो ।

प्रजातन्त्रको स्थापना भएको धेरै समयसम्म पनि विभिन्न बहानामा निर्वाचन हुन नसकेको अवस्थामा काङ्ग्रेसले सत्याग्रह आह्वान गर्‍यो जसले गर्दा तत्कालीन राजा महेन्द्र निर्वाचन घोषणा गर्न बाध्य भए । काङ्ग्रेसले संविधानसभाको निर्वाचन गराउनुपर्नेमा जोड दिँदै आएको थियो । निर्वाचन घोषणा त भयो तर संविधानसभाको हो कि संसदको भन्ने स्पष्ट थिएन । अन्त्यमा राजा महेन्द्रले संविधानसभाको नभएर संसदको निर्वाचन हो भने ।

यसरी अन्योलका बीच भएको निर्वाचनमा दुई तिहाई बहुमतका साथ सरकारको नेतृत्व लिने मौकासमेत काङ्ग्रेसले प्राप्त गर्‍यो । देशमा प्रजातन्त्र स्थापना भएको एक दशकभित्रै दुई तिहाई बहुमत ल्याएको काङ्ग्रेसको सरकारले काम गर्न थालेको डेढ वर्ष पुग्दा नपुग्दै राजा महेन्द्रले उक्त सरकार बर्खास्त गरेर देशमा निरङ्कुश पच्चायती व्यवस्था शुरू गरे ।

बीपीद्वारा प्रतिपादित मूलभूत सिद्धान्तको के कुराअहिले त नेपाली काङ्ग्रेसले बीपीलाई पूर्णरूपमै बिर्सिएको हो कि भन्ने आभास हुन थालेको छ ।

त्यसपछि बीपीको कठोर जेलजीवन प्रारम्भ भयो । आठ वर्षसम्म जेलमा बसेर उनी लामो समय प्रवासी जीवन बिताउन बाध्य भए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अध्ययन गरेर देश र प्रजातन्त्रका सामु आफ्नो जीवन केही पनि होइन भन्ने निष्कर्षसहित राष्ट्रिय मेलमिलापको नीतिका साथ बीपी २०३३ सालमा स्वदेश फर्के अनि प्रजातन्त्र पुनर्स्थापनाका लागि क्रियाशील रहे । स्वदेश आएको छ वर्षपछि संघर्षकै क्रममा बीपीको निधन भयो, उनको भौतिक शरीर रहेन ।

जननायक बीपी कोइरालाको निधनपछि पनि नेपाली काङ्ग्रेस प्रजातन्त्रको पुनर्स्थापनाका लागि क्रियाशील रहिरह्यो । केही वर्ष बीपीकै सिद्धान्त र अडानका साथ अघि बढेको काङ्ग्रेसले प्रजातन्त्र पुनर्स्थापनाका लागि बामपन्थी दलहरूसँग मिलेर संघर्ष गर्ने निर्णय गर्‍यो, फलस्वरूप २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो ।

वामपन्थीहरूका साथ संयुक्त आन्दोलन गर्ने सन्दर्भमा बीपी सहमत थिएनन् भन्ने कुरा उनले लेखेका धेरैजसो दस्तावेजहरूमा प्रष्ट छ । वामपन्थीहरूसँगको सहकार्यमा प्रजातन्त्र पुनर्स्थापनापछि भएको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस नै ठूलो दलको रूपमा स्थापित भयो र सरकारको नेतृत्व गर्ने अवसर पायो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै आन्तरिक द्वन्द्वका कारण नेपाली काङ्ग्रेसको बहुमतको सरकार पनि पूर्ण अवधि टिक्न सकेन ।

प्रजातन्त्र पुनर्स्थापनापछि काङ्ग्रेसले सत्ताको बागडोर सम्हाल्ने मौका पाए पनि बीपीले प्रतिपादन गरेको नीति लागू गर्न सकेन । जननायक बीपी कोइरालाको उद्घोष थियो– नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलभूत उद्देश्य बनाएर अगाडि बढेको अवस्थामा नेपाली जनताको अनुहारमा मुस्कान ल्याउन सकिन्छ ।

बीपीद्वारा प्रतिपादित मूलभूत सिद्धान्तको के कुरा, अहिले त नेपाली काङ्ग्रेसले बीपीलाई पूर्णरूपमै बिर्सिएको हो कि भन्ने आभास हुन थालेको छ ।

कुनै पनि राजनीतिक पार्टीको स्वार्थ क्षणिक हुनुहुँदैन भन्ने धारणा बीपीको थियो । त्यही कारणले बीपीले आफ्नो अडान राजाले स्वीकार नगरेसम्म कहिल्यै सम्झौता गरेनन् । वामपन्थीहरूसँग एकता गरेर प्रजातन्त्र ल्याउने पक्षमा पनि बीपी थिएनन् । बीपीपछिको काङ्ग्रेसले वामपन्थीसँग सहकार्य गरेर अगाडि बढ्ने नीतिमात्र लिएन, वामपन्थी एवं अन्य विचारधाराका दलहरूको चुनाव चिह्नमा मत खसाल्ने निर्देशन समेत पार्टीका सभापतिले दिए । यसमा पार्टीका अन्य शीर्षस्थ नेताहरूले मौन समर्थन जनाए । झिनो स्वरमा आएको विरोधको सुनुवाइ भएन ।

नेपाली काङ्ग्रेस बीपीको सिद्धान्त र आदर्श अनुसार नै चल्नुपर्छ र यसो गरेमात्र काङ्ग्रेसले बीपीप्रति न्याय गरेको ठहर्छ भन्ने दृढ विश्वास बीपीवादी काङ्ग्रेसजनहरूमा छ ।

आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने बरु जेलनेल तथा यातनाका साथ मर्न परे पनि तयार हुने बीपी विलक्षण प्रतिभायुक्त नेता थिए भन्ने कुरा अझ प्रमाणित हुँदै गएको छ । यता बीपीले स्थापना गरेको नेपाली काङ्ग्रेस दिनानुदिन कमजोर बन्दै गएको छ । बीपीद्वारा प्रतिपादित सिद्धान्त व्यवहारमा उतारी नेपाली जनताको अनुहारमा चमक ल्याउनुको साटो सिङ्गो पार्टी नै गन्तव्यहीन र लक्ष्यहीन बन्दै गएको छ ।

नेपाली काङ्ग्रेस बीपीको सिद्धान्त र आदर्श अनुसार नै चल्नुपर्छ र यसो गरेमात्र काङ्ग्रेसले बीपीप्रति न्याय गरेको ठहर्छ भन्ने दृढ विश्वास बीपीवादी काङ्ग्रेसजनहरूमा छ ।

बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली काङ्ग्रेसको आदर्श हो भन्नेमा कुनै पनि काङ्ग्रेसजन अनभिज्ञ छैनन् । सिद्धान्तमा नेपाली काङ्ग्रेस बीपीको प्रजातान्त्रिक समाजवादबाट निर्देशित छ तर व्यवहारमा आफूलाई बीपीको सच्चा अनुयायी ठान्ने अधिकांश काङ्ग्रेस नेताहरू नै बीपीको राजनीतिक चिन्तनको मूलधारबाट विचलित भएका छन् ।

परिणामस्वरूप नेपाली काङ्ग्रेस पार्टी नै बीपीले गरेको भविष्यवाणी ‘जुन दिन नेपाली काङ्ग्रेसले प्रजातन्त्रका आदर्शहरूलाई छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जाने छ’ सार्थक भएको महसुस भएको छ ।

सत्ताका लागि हामीले के गरेनौँ ? यो प्रश्न नेपाली काङ्ग्रेसका सबैजसो नेता र कार्यकर्ताको मनमस्तिष्कमा मडारिएको हुनुपर्छ तर पनि काङ्ग्रेस नेताहरूले त्यही कुरा दोहोर्‍याइरहेका छन् । केही काङ्ग्रेस नेताहरूले बीपीद्वारा प्रतिपादित राजनीतिक सिद्धान्तका विपरीत सत्ताका लागि गल्ती गर्दै जाने अनि अन्य नेता, कार्यकर्ता, शुभचिन्तक आदिले नेताले गरेको गल्ती नऔँल्याउने परिपाटी विकास हुँदै जाने हो भने भविष्यको कांग्रेसको अवस्था अहिले नै अनुमान गर्न सकिन्छ ।

२०४६ को जनआन्दोलनपछि भएको निर्वाचनमा नेपाली जनताले काङ्ग्रेसलाई बहुमत दिए तर बहुमतको सरकार पूर्ण अवधि टिक्न सकेन । यसपछि देशमा अझ धेरै राजनीतिक अस्थिरता निम्तियो । कम्युनिस्टहरूकै एउटा घटकले देशमा हत्याहिंसा शुरू गर्‍यो, परिणाम स्वरूप सत्रहजारभन्दा धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । हजारौँको सङ्ख्यामा अङ्गभङ्ग भएर अहिले पनि सकसको जीवन बिताइरहेका छन् । हजारौँ कांग्रेसजन पुख्र्यौली थलो छोडेर विस्तापित हुनुपर्‍यो ।

अहिले परिस्थिति सामान्य बनेको छ तथापि ती गाउँहरू पूर्ववत अवस्थामा पुग्न सकेका छैनन् । सक्नेहरू राजधानी भित्रिए, ठिक्कमात्रै सक्नेहरू जिल्ला सदमुकाम या शहरोन्मुख क्षेत्रमा सरे । सक्दै नसक्नेहरू गाउँमै रहे । अनि यस्ता दुर्गम गाउँहरू झन पछाडि परे ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपछिको निर्वाचनमा नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्षीको रूपमा स्थापित हुनपुग्यो । झण्डै दुई तिहाई बहुमतसाथ कम्युनिस्ट पार्टीले सरकार बनायो । प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाइको केन्द्रीय सरकार भताभुङ्ग भयो । त्यसको असर प्रदेश सरकारहरू पनि पर्‍यो ।

ओलीको दम्भको परिणाम स्वरूप काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । सरकारमा काङ्ग्रेससहित चार खम्बा छन् जसमध्ये दुई खम्बा वामपन्थीका छन्, एउटा मधेशवादीको । यस्तो गठबन्धन परिस्थितिको उपज हो ।

सम्भवतः आगामी स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराउने अवसर यही सरकारले पाउनेछ । अब नेपाली काङ्ग्रेस आफ्नै नीति र कार्यक्रमका साथ निर्वाचनमा गएको अवस्थामा उसले आफ्नो भविष्य सुनिश्चित गर्न सक्नेछ भन्नेमा बीपीवादी नेताहरूको मतैक्य देखिन्छ ।

हुन पनि हो, हरेक पार्टीको आफ्नै नीति र कार्यक्रम हुनुपर्छ । त्यसै अनुसार जनतासमक्ष जानुपर्छ र परिणामअनुसार सत्तामा वा प्रतिपक्षमा बस्नुपर्छ ।

प्रजातन्त्र पुनर्स्थापना भएको ३२ वर्ष भएको छ । नेपाली काङ्ग्रेसले यी ३२ वर्षमा गरेका गल्तीहरूको समीक्षा गर्ने वेला भएको छयसमा ढिलो हुनुहुँदैन ।

नेपालमा उल्टो भएको छ । प्रचण्ड बहुमत प्राप्त गरेका वामपन्थीहरू अनेक चिरामा विभाजित भएर तमासा गरिरहेका छन् । पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको काङ्ग्रेस बाध्यात्मक परिस्थितिमा सत्तासीन भएको छ । प्रतिपक्षी भएर सत्तामा जानु हुँदैन भन्नेर कुरा होइन; सत्तामा रहँदा होओस् कि प्रतिपक्षमा, आफ्नो नीति, सिद्धान्त र आदर्श कहिल्यै पनि बिर्सनु हुँदैन; विगतका गल्ती दोहोर्‍याउनु हुँदैन भन्ने हो ।

सत्तामा पुगेपछि विगतका गल्ती दोहोरिने सङ्केत देखिएको छ । गल्ती नदोहोर्‍याउने प्रतिबद्ध नेतृत्व चयन गर्ने हिम्मत काङ्ग्रेसका जिम्मेवार कार्यकर्ताले गर्नुपर्छ । समय आइसकेको छ । काङ्ग्रेसका तल्ला निकायहरूबाट नेतृत्व चयन आरम्भ भएको छ । चौधौँ महाधिवेशनमा काङ्ग्रेसको नीति, सिद्धान्त र आदर्शका सम्बन्धमा गहन बहस हुनुपर्छ र काङ्ग्रेसलाई आफ्नो बाटोमा फर्काउनुपर्छ ।

जननायक बीपी कोइरालाले यो धर्तीलाई छोडेको ३९ वर्ष पूरा भएको छ । प्रजातन्त्र पुनर्स्थापना भएको ३२ वर्ष भएको छ । नेपाली काङ्ग्रेसले यी ३२ वर्षमा गरेका गल्तीहरूको समीक्षा गर्ने वेला भएको छ, यसमा ढिलो हुनुहुँदैन । चौधौँ महाधिवेशन शुरू भइसकेको सन्दर्भमा यसले पार्टीलाई भविष्यको मार्ग निर्देश गर्नुपर्छ ।

महाधिवेशनमा बीपीले प्रतिपादन गरेको सिद्धान्त र आदर्शका सम्बन्धमा खुला बहस हुनुपर्छ र पार्टीलाई उनकै मार्ग डोर्‍याउनुपर्छ । काङ्ग्रेससँग आबद्ध बुद्धिजीवीहरूबाट यस्तै धारणा प्रकट भएको छ । यो धारणाप्रति आमकाङ्ग्रेजनको विमति छैन तर व्यवहारमा प्रतिविम्बित हुन सकेन ।

विगतका महाधिवेशनका सन्दर्भमा पनि नीति र सिद्धान्तको विषयमा कुरा नउठेको होइन तर नेतृत्वको अनिच्छाले हलमा प्रवेश पाएन । गल्तीहरू दोहोरिँदै गए नेपाली काङ्ग्रेसको अवस्था अझै दयनीय हुनेछ । सबै काङ्ग्रेसजनलाई चेतना भया ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button