breakingसमाचारवी पी विचार

सम्पन्न देशहरू खडेरीको चपेटामा, नेपालमा झन् धेरै प्रभाव

यूरोप र चीनसहित विकसित देशहरूमा देखिएको अत्यधिक गर्मी (खडेरी) को प्रभाव विश्वव्यापी रूपमै पर्नेछ भने नेपाल जस्ता अतिकम विकसित देशहरू त्यसबाट झन् धेरै प्रभावित हुनेछन् ।

Photo Credit : Pixabay

‘हिट–वेभ’ अर्थात् ‘लु’ले यूरोपका विभिन्न मुलुक र एशियाका चीनसहित विश्वभर त्राहिमाम् मच्चिएको छ । अफ्रिकामा खडेरीको समस्या पहिलेदेखि छँदैछ । तर, यस वर्ष यूरोपसहित चीनलगायतका मुलुकमा अप्रत्याशित जलवायुजन्य घटनाक्रम देखिएका छन् र यसले विश्वको ध्यान तानिरहेको छ । र, यसको प्रभाव विश्वभर पर्ने देखिएको छ । बेलायतमा अहिलेसम्मकै उच्च ४०.२ डिग्री तापक्रम रेकर्ड गरिएको छ । गत जुलाईमा रेकर्ड गरिएको तापक्रम बेलायतमा अहिलेसम्मकै उच्च हो ।

यसभन्दा अघि सन् २०१९ मा बेलायतमा ३८.७ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । उच्च तापक्रम तथा खडेरीका कारण यूरोपका विभिन्न देशमा वन–जंगलमा लागेको आगो नियन्त्रण बाहिर छ । पेरिसमा पछिल्लो ७५ वर्षमा यस वर्षसहित तेस्रो पटक ४० डिग्रीभन्दा बढी तापक्रम रेकर्ड गरियो । २५ जुलाई २०१९ मा ४२.६ डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड नै अहिलेसम्मकै उच्च हो । त्यसभन्दा अघि २८ जुलाई १९४७ मा ४०.४ डिग्री सेल्सियस रेकर्ड भएको इतिहास छ । यस वर्ष ४०.५ डिग्री सेन्टिग्रेड रेकर्ड गरिएको छ ।

त्यसैगरी चीनमा अहिलेसम्म ‘हिट–वेभ’ ले २०१३ को रेकर्डलाई तोडेको छ । सन् २०१३ मा चीनमा ६२ दिन हिट–वेभ (लु) रेकर्ड गरिएको थियो । तर, यो रेकर्ड यस वर्ष तोडिएको छ । ७ अगस्तमा ६२ दिन हिट–वेभले पूरा गरेको छ । चीनको मौसम विज्ञान एकेडेमीका अनुसार सन् १९६१ देखि यो नै चीनमा अहिलेसम्म लामो समयसम्म कायम रहेको हिट–वेभ हो ।

चीनले गत शुक्रबार राष्ट्रव्यापी हिट–वेभ र सुख्खा खडेरीको सूचना जारी गरेको छ । र, उसले यो आगामी सेप्टेम्बरसम्म लम्बिने बताएको छ ।

लामो समयसम्मको खडेरीका कारण यूरोप तथा चीनलगायतका देशमा आगलागीका डरलाग्दा घटना भएका छन् भने नदी र सिमसार क्षेत्र सुकेका छन् । खानेपानीको संकट निम्तिएको छ । विश्वका प्रमुख नदीहरूमा गर्मीका कारण अहिलेसम्मकै कम पानी बगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जर्मनी भएर बग्ने राइन, फ्रान्सको सबैभन्दा लामो लोइरे, इटलीको सबैभन्दा लामो नदी पोमा पानीको मात्रा २–३ मिटरसम्म घटेको छ ।

यस्तै जर्मनी भएर बग्ने १ हजार २३३ किलोमिटर लामो राइन नदीले समग्र यूरोप र जर्मनीको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । शताब्दियौंदेखि उत्तर–पश्चिम यूरोपको अर्थतन्त्रको मेरुदण्ड रहेको यो नदी सुक्दा यस वर्ष जर्मनीको अर्थतन्त्रमा ०.२ बिन्दुको नोक्सान पुग्ने पूर्वानुमान छ । सन् २०१८ मा ६ महीनासम्मको खडेरीका कारण राइन नदीमा पानीको मात्रा घट्दा जर्मनीको अर्थतन्त्रमा ५ बिलियन यूरो नोक्सान भएको थियो । राइन नदीमा पानीको मात्रा कम हुँदा त्यसको असर खानेपानी, विद्युत् उत्पादन, औद्योगिक तथा यातायात पारवहनमा परेको छ ।

नदीमा पानीको मात्रा कम हुँदा पानीजहाज चल्न रोकिएका छन् । त्यसैगरी इटालीको पो नदीमा पानी कम हुँदा पो उपत्यकामा कृषि उत्पादन ३०–४० प्रतिशतले कमि आउने आकलन गरिएको छ ।

जसरी रूस–युक्रेन युद्धका कारण विश्वभर सप्लाई चेन खल्बलिएर मूल्यवृद्धि भएको थियो त्यसैगरी यस वर्षको खडेरीका कारण उत्पादनमा आएको कमिका कारण मूल्यवृद्धि हुने भविष्यवाणी वैज्ञानिकहरूले गरेका छन् ।

यूरोप जस्तै चीन पनि गर्मीका कारण नराम्रोसँग प्रभावित भएको छ । चीनको याङ्त्जे नदीमा पानीको मात्रा आधाले कम भएको छ । याङ्त्जे संसारको तेस्रो ठूलो नदी हो । जसले ४०० मिलियन चिनियाँहरूलाई पिउने पानी उपलब्ध गराउँछ । चीनको अर्थ–व्यवस्थाका लागि पनि यो महत्वपूर्ण जलमार्ग हो ।

खडेरीले सिचुआन, हुवेइ, हुनान, जियाङ्सीलगायतका प्रान्तमा २४ करोड ६० लाख मानिस र २२ लाख हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको छ । उच्च तापक्रमका कारण जुलाईमा मात्र ३४० मिलियन पाउण्डको आर्थिक नोक्सानी चीनले व्यहोरेको छ भने ५.५ मिलियन मानिस प्रभावित भएका छन् ।

८० प्रतिशत विद्युत् हाइड्रोपावरबाट हुने चीनको सिचुवान प्रान्तमा अहिले विद्युत् उत्पादनमा प्रभाव परेको छ । गर्मीले गर्दा विद्युत्को माग २५ प्रतिशतले बढी भएको छ भने विद्युत् उत्पादन घटेकाले प्रान्त सरकारले विद्युत् प्रयोग घटाउन सूचना नै जारी गरेको छ ।

विद्युत्को अभावमा उद्योगहरू नियमित रूपमा सञ्चालन हुनसकेका छैनन् । नदीमा पानीको बहाव कम भएपछि जहाजबाट सामान ओसारपसार समेत रोकिएको छ । वैज्ञानिकहरूले यस वर्ष यूरोप र चीनमा देखिएका घटनालाई ५०० वर्षकै खराब अवस्था भनेका छन् ।

महिनौंसम्म गर्मीको चपेटामा परेको फ्रान्समा गतहप्ता अप्रत्याशित वर्षा भयो । वर्षाले पेरिस सहर जलमग्न भएका रिपोर्टहरू त्यहाँका स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । फ्रेन्च मेट्रोलोजिकल सर्भिस, मेट्रो–फ्रान्सका अनुसार एक महीनाभरि हुनुपर्ने वर्षा एक घण्टामा भइदियो । त्यहाँ ९० मिनेटमा ४० मिलिमिटर वर्षा रेकर्ड गरियो । यो सामान्यतया हुनुपर्ने वर्षाभन्दा ७० प्रतिशत बढी हो ।

नेपालमा प्रभाव

वैज्ञानिकहरूका भनाइमा विश्वमा देखिएको उच्च तापक्रम, खडेरी र आगलागीका घटना जलवायुमा आएको परिवर्तनसँग सम्बन्धित छन् । हुन पनि खडेरी र अत्यधिक वर्षाका घटना अप्रत्याशित र छिटो–छिटो देखिन थालेका छन् ।

ग्लोबल फरेष्ट वाचको रिपोर्ट अनुसार सन् २०२१ मा प्रतिमिनेट १६ वटा फूटबल मैदान बराबरको जंगल डढेलोको चपेटामा पर्‍यो । बीबीसीमा प्रकाशित रिपोर्ट अनुसार पछिल्लो २० वर्षमा भएको क्षतिको यो झण्डै दोब्बर हो । नेपालमा सन् २०२१ को भन्दा खराब अवस्था यस वर्ष देखिएको छ ।

विश्वव्यापी रूपमा देखिएका अत्यधिक वर्षा, खडेरी र आगलागीका घटनाको प्रभाव नेपालमा स्वभावैले आगामी दिनमा देखिनेछ । नेपाल यसै पनि जलवायु परिवर्तनका कारण जोखिममा रहेको मुलुक हो । जर्मन वाचको २०२१ को रिपोर्टमा जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल जोखिमको १०औं स्थानमा थियो । तर, यूरोपलगायत संसारभरका मुलुकमा देखिएका ठूला–ठूला घटनाक्रमले नेपाल जस्ता साना मुलुकका समस्या छायाँमा परेका छन् ।

यसै पनि जलवायुका कारण आफैं जोखिममा रहेको नेपाललाई सात समुद्रपारिका सम्पन्न देशमा देखिएको संकटको असर पक्कै पर्छ । सबै सेवा तथा वस्तुहरू आयातमा निर्भर रहेको नेपालका लागि विश्वव्यापी खडेरीका कारण उत्पादनमा आउने कमिले महँगो मूल्य तिर्नुपर्दछ ।

nema
Show More

Related Articles

Back to top button