दुग्धजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन अनुमति नदिएको विभागको दाबी
१६ फागनु,
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुधजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको स्पष्ट पारेको छ । सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको समाचार यसअघि प्रकाशमा आएको थियो । समाचारपछि उपभोक्ताहरू चिन्तित बनेका छन् । विभागले भने त्यसबारे प्रष्ट पार्दै कसैलाई पनि हानिकारिक रसायन मिसाउन अनुमति नदिएको जनाएको छ । विभागले आज एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै एफएओ र डब्ललूएचओ अन्तर्गत खाद्य पदार्थको अन्तराष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्थाले वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा तोकेको र सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबै प्रकारका खाद्य पदार्थको अनुगमन तथा परीक्षण गर्ने गरेको बताएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा विभाग सचेत र सजग रहेको जनाउँदै भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । साथै उसले निर्धारित मापदण्डविपरीतका काम भएको पाइएमा खाद्य ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत पनि दिएको छ ।