समाचारनेपाली कांग्रेस
कांग्रेसमा युग सुहाउँदो व्यवस्थापन
कांग्रेसमा युग सुहाउँदो व्यवस्थापन
विनोद चौधरी
काठमाडौँ — नेपाली कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला हेटौंडामा भइरहेको छ । मुलुक संघीय संरचनामा गएपछि भएका संघीय संसद्, प्रादेशिक व्यवस्थापिका र स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले अपेक्षित नतिजा प्राप्त गर्न नसकेको पृष्ठभूमिमा देशभरि फैलिएको नेतृत्व पंक्तिबीच यो अन्तरक्रियाको अवसर जुटेको छ ।
यो पार्टीको भविष्य निर्माणको खाका तयार गर्ने दृष्टिले अत्यन्तै महत्त्वपूर्ण अवसर हो । यो भेलालाई वास्तवमै भविष्यको मार्गचित्र निर्माणमा सफल बनाउने जिम्मेवारी सबै कांग्रेसजनको हो ।
चुनावी पराजयपछि त्यसको समीक्षा हुनु, आलोचना र आत्मालोचना हुनु स्वाभाविक हो । तथापि सिंगो पार्टीले सधैं तिनै विगतका तिता यथार्थहरूमा रुमलिएर अगाडिको बाटो तय गर्न सक्दैन । र अहिले पार्टीले बेहोरेका समस्याहरूको समाधान आरोप–प्रत्यारोप, दोषारोपण वा गालीगलोज त झन् हुनै सक्दैन ।
कांग्रेसको केन्द्रदेखि जिल्ला तहको नेतृत्व पङ्क्तिसम्मले अबको बहस र छलफललाई यही यथार्थ केन्द्रबिन्दुमा राखेर अघि बढाउनु सबभन्दा वाञ्छनीय बाटो हो । विगतमा भएका कमजोरीहरूको सिंगै दोष यो वा त्यो पक्षले अर्कोलाई थोपरेर पनि समस्याको समाधान निस्कँदैन भन्ने तत्त्वबोध अब सबैमा हुनैपर्छ । बलवान् सत्य के हो भने पार्टी शक्तिशाली हुँदा र पटक–पटक सत्तामा पुग्दा अहिले नेतृत्वमा
बसेका सबै तहका नेता, कार्यकर्ताले सकेसम्म लाभ र पद लिएकै हो । अहिले पार्टी
संकटमा परेको समयमा एकअर्काप्रति औंलाठड्याएर अनि महत्त्वपूर्ण समय र ऊर्जा एकअर्कालाई होच्याउनमा प्रयोग गरेर भविष्यको बाटो तय हुन सक्दैन ।
पार्टीको इतिहास निर्माण र मुलुकमा लोकतन्त्र स्थापनादेखि आर्थिक समृद्धिको जग बसाल्नेसम्मका कार्यमा सम्पूर्ण पार्टी पङ्क्तिको योगदान छ । त्यसको कदर र सम्मान हुनुपर्छ । अब त्यही कदर र सम्मान मात्र खोज्ने तर भविष्यका लागि सिर्जनात्मक ऊर्जा, समय–सापेक्ष दृष्टिकोण, कार्ययोजना र आधुनिक वैज्ञानिक व्यवस्थापन दिन नसक्ने हो भने पार्टी पुनर्जीवन पाउन नसक्ने दिशातर्फ दु्रतगतिले उन्मुख हुनेछ । त्यसका संकेत देखिइसकेका छन् ।
युगले मागेका सांगठनिक, सैद्धान्तिक र व्यवस्थापकीय रूपान्तरणको प्रस्ट खाका अगाडि सार्न नसक्ने हो भने पार्टीको भविष्य संकटापन्न हुँदैछ भन्ने आभास सबै तहका पार्टीका नेता, कार्यकर्तामा अब मनैदेखि हुन आवश्यक छ । सम्भवत: भई पनि सकेको छ । यसलाई निकास दिनेगरी बौद्धिक अभ्यास गर्ने उचित स्थल सम्भवत: पार्टी सभापतिहरूको यो भेलाभन्दा अर्को हुन सक्दैन ।
यस बीचमा हामीले कांग्रेस कार्यकर्ताका रूपमा आफैंलाई गर्नुपर्ने अहम् प्रश्न के हो भने अहिले संगठनको कुनै पनि तहमा नेता ‘क’ले पाइरहेको जिम्मेवारी नेता ‘ख’मा सर्दैमा पार्टी स्वत: रूपान्तरित, ऊर्जावान् र क्रियाशील हुने सम्भावना कति छ ? पुरानो चिन्तन र कार्यशैलीलाई बदल्न हामीसँग के साझा कार्ययोजना र एजेन्डा छ ? पार्टी परिचालनका लागि नयाँ दृष्टिकोणहरू के छन् ? त्यसले पार्टीलाई अगाडि बढाउने हाम्रो कार्यभार निर्धारण गर्नेछ ।
विषय उठान जताबाट गरे पनि पार्टीभित्रको अहिलेको संकट मूलत: व्यवस्थापकीय चुनौतीको हो । व्यक्तिभन्दा अहम् रूपान्तरण परिपाटी र व्यवस्थापकीय चुस्ततामा आवश्यक भएको हो । दोहोर्याइरहनु पर्दैन, एकाइसौं शताब्दी व्यवस्थापन विज्ञानको शताब्दी हो । सिद्धान्त, नेतृत्व र असल अभ्यासको संश्लेषित स्वरुप नै व्यवस्थापन हो । कांग्रेसको पुनरुत्थान पनि यही सिद्धान्त, मान्यता र अभ्यासलाई आत्मसात गरेर मात्रै सम्भव छ । विगतमुखी होइन, आगतमुखी भएर मात्रै पार्टीको भविष्य सुनिश्चित गर्न सकिन्छ ।
कांग्रेसका आफ्नै सैद्धान्तिक आधारहरू विलकुलै कमजोर छैनन् । सदावहार प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता, उदारवाद र लोकतन्त्रप्रतिको अविचलित अडानको परिणामस्वरुप नै अहिले मुुलुकका सबै रूप र रङका राजनीतिक शक्तिहरू संसदीय लोकतान्त्रिक अभ्यासको समान धरातलमा आइपुगेका छन् । यही सैद्धान्तिक सबलतालाई पार्टीका कार्यकर्ताहरूको ज्ञान, ऊर्जा, लगनशीलता र आशावादितामा अनुदित गर्ने व्यवस्थापन अब कांग्रेसको पहिलो र अहम् एजेन्डा हुन सक्नुपर्छ ।
२०४७ सालपछि नेपाली कांग्रेसको सरकारले लिएको युगसापेक्ष र विश्व दृष्टिसम्मत आर्थिक नीतिहरूका कारण मुलुकको अर्थतन्त्र अहिलेसम्म धानिएको छ । अर्थतन्त्रका मूलभूत मान्यताहरू, जस्तै– निजी क्षेत्रको लगानी एवं नेतृत्वमा मुलुकको आर्थिक विकास, मुलुकको औद्योगिकीकरण र अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको एउटा अभिन्न हिस्सा बनाउने आदि मान्यताहरूलाई हामीले अझै प्रबद्र्धन गर्न आवश्यक छ । नेपाली कांग्रेस यसतर्फ सजग भइरहन आवश्यक छ । त्यसका लागिआवश्यक ऊर्जा निर्माण गर्ने ध्येयतर्फ सिङ्गो पार्टी उन्मुख हुनुपर्छ ।
नयाँ ऊर्जा, क्षमता र व्यवस्थापकीय कौशल विस्तारका लागि पार्टीले परम्परागतभन्दा फरक, उदार र समावेशी कार्यशैली अपनाउनु आवश्यक छ । समर्पित कार्यकर्तालाई नयाँ युगका चिन्तकहरू, व्यवस्थापकीय अनुभव र क्षमता भएका पार्टीभित्र वा बाहिरका व्यक्तिहरूसँग निरन्तर अन्तरक्रिया गराइराख्नु आवश्यक छ ।
अनुभवले खारिएका र क्षमता प्रमाणित भएका व्यक्तिहरूको कांग्रेसभित्र मात्रै कदर र परिणाममुखी सदुपयोग हुनसक्छ भन्ने उदाहरण कांग्रेसले स्थापित गर्न सक्नुपर्छ । सिङ्गो देश, खासगरी निजी क्षेत्र र निर्वाध स्वतन्त्रतामा विश्वास गर्ने बौद्धिक जमातले कांग्रेसबाट व्यग्रताका साथ यही अपेक्षा गरेको छ ।
मुलुक संघीयतामा जानु भनेको पार्टीलाई जनताको थप नजिक पुग्नेगरी पुनर्संरचना गर्ने अवसर उपलब्ध हुनु पनि हो । यो अवसरलाई पार्टीको प्रादेशिक संगठन निर्माण, संघीय पार्टी संगठनको क्रियाशीलता र स्थानीय तहसम्म आशाको सञ्चार गराउन सक्नेगरी सिंगो संगठनलाई व्यवस्थित र परिचालित गर्नुपर्छ । त्यसका लागि अपनाइनुपर्ने पद्धति, योग्यताको कदर र सैद्धान्तिक आधारशिला अब पार्टीभित्रको बहस र छलफलको मुख्य विषय बन्नैपर्छ ।
आन्तरिक गञ्जागोल, अव्यवस्था र आरोप–प्रत्यारोपमा मात्रै लामो समय रुमलिँदा यो ऐतिहासिक दल राष्ट्रिय दायित्वहरूबाट क्रमश: विमुख हुने र जनताका मुद्दा र चासोहरूलाई राष्ट्रिय नीति निर्माणमा प्रतिनिधित्व गराउन नसक्ने अवस्थातर्फ नजाओस् भनेर अत्यन्तै सजग रहनु आवश्यक छ । प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संघीय र प्रादेशिक संसद्मा खेल्नुपर्ने भूमिकालाई जनअपेक्षा अनुरुप नयाँ उचाइमा पुर्याउन सक्नुपर्छ ।
यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीले जनता, विभिन्न पेसा र वर्गको हितका लागि ‘हामी पहरेदारका रूपमा उभिएका छौं’ दृढताका साथ भन्न सक्नुपर्छ र त्यसको सन्देश सरोकारवालासम्म प्रस्ट रूपले पुग्नुपर्छ ।
विषयगत, क्षेत्रगत र बुँदागत रूपमा सरकारका कमजोरीहरू औंल्याउने र तिनलाई मुलुकको हितमा निर्णय गर्न लगाउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसकै हो । यी सबै आवश्यकता अनुसारको दृष्टिकोण निर्माण क्षमता र पद्धतिले मात्र गर्न सक्छ, आपसी झगडा र वैमनस्यले गर्दैन । केही असमझदारी, मनोमालिन्य र अन्योल छन् भने ती पार्टीका आन्तरिक विषय हुन् । जिल्ला सभापतिहरूको नेतृत्वदायी जमघटको ‘सिनर्जी’ तिनै नमिठा विगतलाई उधिन्नमा मात्र खर्च हुनुहुँदैन ।
यसले एकता र सैद्धान्तिक सहकार्यको मञ्चको सन्देश प्रवाह गर्न सक्नुपर्छ । त्यसका लागि भविष्य निर्माणको दृष्टिकोण बोकेकाहरूलाई यथेष्ट भूमिका र स्थान दिने कुरामा उदार हुने वातावरण नेतृत्वलाई यो भेलाले बनाइदिनुपर्छ । यो पार्टीको भविष्य छ र त्यसलाई सुनिश्चित गर्ने एक्काइसौं शताब्दीका ‘कालिगढहरू’को योगदान सम्भव बनाउने नयाँ दृष्टिकोणका साथ हेटौंडाबाट सिंगो पार्टी पङ्क्ति बिदा हुने वातावरण बन्न सकोस् । यसैमा पार्टी, यसका कार्यकर्ता र मुलुकको भविष्य छ ।
कान्तिपुरबाट साभार गरिएको ।