समाचारविश्व

९२ वर्षीय महाथिर बने विश्वकै जेठो प्रधानमन्त्री

एजेन्सी क्वालालम्पुर, २८ वैशाख | बैशाख २८, २०७५
मलेसियामा विपक्षी दलको ऐतिहासिक जित-
मलेसियामा डा. महाथिर मोहमदले प्रधानमन्त्रीको शपथ लिएका छन् । मलेसियामा सम्पन्न संसदीय निर्वाचनमा विपक्षी गठनबन्धनको ऐतिहासिक विजयपछि ९२ वर्षीय महाथिरले बिहीबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

सन्न्यास लिएको १५ वर्षपछि पुनः राजनीतिमा फर्किएका महाथिरको गठबन्धनले सानदार जित हात पारेपछि उनी पुनः प्रधानमन्त्री बनेका हुन् ।  विपक्षीको विजयसँगै बेलायती उपनिवेशबाट सन् १९५७ मा स्वतन्त्र भएपछि सत्तामा रहेको बारिसन नेसनल (बिएन)को निरन्तरता तोडिएको छ । शपथ लिएसँगै महाथिर विश्वकै सबैभन्दा जेठो प्रधानमन्त्री बनेका छन् । निवर्तमान प्रधानमन्त्री नजिब रजकले जनताको मतको सम्मान गर्ने बताएका छन् ।
महाथिरको पुनरागमन
निर्वाचनपछि वरिष्ठ राजनीतिज्ञ महाथिर मोहमदको राजनीतिक पुनरागमन भएको छ । कतिपयले उनको जितलाई ‘चामत्कारिक’ बताएका छन् । पछिल्लो राजनीतिक परिवर्तनलाई केही राजनीतिक विश्लेषकहरूले नौटंकी बताएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । महाथिरको सत्तामा फर्कने इच्छासँगै मलेसियामा राजनीतिक सरगर्मी बढेको छ ।
शपथ समारोहअघि महाथिरका समर्थकले राजधानी क्वालालम्पुरलगायत प्रमुख सहरहरूमा विशाल प्रदर्शन गरेका थिए । समर्थकले देशमा विद्यमान भ्रष्टाचार अन्त्य गर्न नयाँ नेतासँग आग्रह गरेका छन् । महाथिरले आफू नेतृत्वको गठबन्धनले बदला नलिने, बरु विधिको शासन स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सन् १९८१ जुलाई १६ देखि २००३ अक्टोबर १३ सम्म मलेसियाको प्रधानमन्त्री बनिसकेका महाथिरले दुई वर्षपछि राजीनामा दिने बताएका छन् । महाथिर विकासका प्रवर्तकका रूपमा मलेसिया र सिंगो एसियामा नै परिचित छन् । उनको नेतृत्वमा मलेसिया आर्थिक दृष्टिले सशक्त राष्ट्र बनेको थियो । सन् १९९० को दशकमा तीव्र आर्थिक वृद्धि भएको थियो ।
सुविधाजनक बहुमत
महाथिरले सरकार गठनका लागि आवश्यक बहुमत हासिल गरेका छन् । सरकार गठन गर्न मलेसियाको सदनमा १ सय १२ सिट आवश्यक पर्दछ । तर, महाथिर नेतृत्वको विपक्षी गठबन्धन पाकटान हारापनले १ सय १५ स्थान जितेको छ । सरकार गठनका लागि यो सामान्य बहुमत हो । सत्तारुढ बिएन ७९ सिटमा खुम्चिएको छ ।
महाथिरले बिगतमा आफैँले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र राजनीतिक शिष्य तथा निवर्तमान प्रधानमन्त्री  नजिब रजकलाई चुनौती दिँदै नजिबको सत्ता ढाल्न महत्वपूर्ण भूमिका खेलेका थिए । भ्रष्टाचार र आर्थिक अनियमितताका कारण नजिबको पछिल्लो कार्यकाल विवादित बनेको थियो । विपक्षीले राजीनामा मागेपछि नजिबले संसद् विघटन गरी आमनिर्वाचन सम्पन्न गरेका थिए । नजिबको शासनकालमा मलेसियामा बढेको भ्रष्टाचार र जातीय तनावको अन्त्य र राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुस गरेको भन्दै महाथिर १५ वर्षअघि पुनः राजनीतिमा फर्किएका थिए  ।
शक्तिमा वृद्ध नेता
सरकारको नेतृत्व गरेका महाथिर संसारकै पाका प्रधानमन्त्री हुन् । यसअघि पनि वयोवृद्ध राजनीतिज्ञ राष्ट्र प्रमुख र सरकार प्रमुखको जिम्मेवारीमा थिए । पदत्याग गर्दा मलावीका पूर्वराष्ट्रपति डा. हेस्टिङ्स बन्डा ९६ वर्षका थिए । त्यसैगरी, जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे ९३ वर्षको उमेरमा पदच्युत भएका थिए ।
nema
Show More

Related Articles

Check Also
Close
Back to top button