समाचार

बंगलादेशबाट छुटेका बसलाई झापामा भव्य स्वागत [फोटोफिचर]

लक्ष्मी काफ्ले झापा, १२ वैशाख | बैशाख १२, २०७५
बंगलादेश–भारत–नेपाल बीच सिधा बस सेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । पूर्वी नाका काँकडभिट्टा हुँदै बस नेपाल प्रवेश गरेका हन् । बसमा सवार तीन देशका सरकारी अधिकारीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भब्य स्वागत गरिएको छ ।

बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका ७ गरी कुल ५७ जना सरकारी अधिकारीहरु सहभागी छन् । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य नेतृत्वको ठूलो टोलीले उनीहरुको स्वागत गरेको हो ।

स्वागतका लागि विद्यार्थी तथा जिल्ला खेलकुद विकास समितिका तर्फबाट खेलाडी पनि बिहानैदेखि काँकडभिट्टामा भेला भएका थिए । बंगलादेशबाट आएको टोलीलाई पञ्चेबाजासहित नेपाल प्रवेश गराइएको थियो । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरुप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको तीन वर्षपछि रुट परीक्षण सुरु गरिएको हो ।

ढाकाबाट छुटेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बिहीबार काठमाडौँ पुग्ने बताइएको छ । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । त्यहाँबाट बुधबार बिहान नेपालका लागि प्रस्थान गरेको थियो । बंगलादेश, भुटान, भारत र नेपालबिच बस सेवा सञ्चालन गर्नका लागि सन् २०१५ मा बीबीआइएन मोटर भेइकल सम्झौता भएको थियो ।

यद्यपि, भुटानले अझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन् । सोही सम्झौता अनुसार परीक्षणको रुपमा बस सेवा सञ्चालन गरिएको हो । बीबीआइएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने भन्दै स्तरोन्नती गरिरहेको छ ।

‘यो त ट्रायल रन मात्र हो, यसको प्रतिवेदनका आधारमा रुट कायम हुन्छ,’ नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिब रोशन खनालले भनिन्, ‘भुटानको संसद्बाट अनुमोदन भएपछि मात्र सञ्चालनमा आउनेछ । सम्पूर्ण प्रक्रिया सकिन झण्डै ६ महिना लाग्न सक्छ ।’

यसरी सवारीसाधन सञ्चालन गर्न भारत, भुटान, बंगलादेश र नेपाल सरकारले संयुक्त रुपमा पहल गरेको टोलीमा सहभागी नेपाली प्रतिनिधि गोविन्द खरेलले बताए । ‘तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसद्बाट अनुमोदन पनि भइसकेको छ,’ उनले भने, ‘भुटानले चाहिँ अनुमोदन गर्न केही प्रक्रिया बाँकी छ तर, भुटानले परीक्षण यात्राका लागि शुभेच्छा दिएको छ, पत्र पनि लेखेको छ ।’

यसरी बस सेवा सञ्चालन भएपछि चारवटै मुलुकका नागरिक सहज रुपमा आवतजावत गर्न, अध्ययन गर्न, विवाहबारी कार्यक्रममा सहभागी हुन, तीर्थयात्रा गर्न सक्ने उनले बताए । परीक्षण यात्रा आनन्दित भएको उनले सुनाए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button