समाचारनेपाली कांग्रेस

सरकारविरुद्ध कांग्रेसले आज ७७ जिल्लामा विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनविरोधि क्रियाकलाप गरेको भन्दै त्यसकाविरुद्ध आज देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ ।  काठमाडौंमा दिउँसो साढे २ बजे प्रदर्शन गर्ने तयारी भएको कांग्रेसले जनाएको छ । काठमाडौंको सभालाई शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

सरकार विरुद्धको आन्दोलनलाई चर्काउन प्रतिपक्षी कांग्रेसले ७७ वटै जिल्लाका सदरमुकामहरुमा प्रदर्शनको तयारी गरेको छ ।  कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध मंगलबार सदरमुकामहरुमा विरोध प्रर्दशन गर्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको जानकारी दिएका छन् । जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ÷नगर इकाईहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीच पु¥याउँदै विरोध प्रर्दशनमा सहभागी हुन निर्देशन दिएको उनको भनाई छ ।

केन्द्रीय कार्यसमितिले मंगलबारका लागि तय गरेको सरकार विरोधी प्रदर्शनका लागि गाउँ, नगर, क्षेत्रसँगै सदरमुकाम पर्ने नगरपालिकाका वडा–वडाबाट कार्यकर्ताहरुलाई सहभागिताका लागि निर्देशन दिएको विभिन्न जिल्लाका कार्यसमितिहरुले जानकारी दिएका छन् । उनीहरुले केन्द्रको निर्देशन अनुसार प्रदर्शनलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने पनि जनाएका छन् ।

संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा सरकार कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट अघि बढी रहेको कांग्रेसको ठहर छ ।

संघीय संसद र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनु पर्ने संवैधानिक व्यवस्थाको पनि सरकारले ठाडो रुपमा उल्लघंन गरेको प्रतिपक्षी कांग्रेसको दाबी छ । ‘‘संघीय व्यवस्थाको भावना विपरित अधिकारहरुको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रुपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरुलाई व्यवसायीक रुपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रुपमा प्रकट भएका छन्,’’ महामन्त्री कोइरालाले आन्दोलन तयारीका लागि जारी गरेको विज्ञप्तीमा भनिएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्ति, ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्धभत्ता दिने तत्कालीन सरकारको निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५ हजार रुपैयाँ जिविकोपार्जन भत्ता दिने व्यवस्था र भूकम्प पीडितहरुलाई थप एक लाख रुपैयाँ राहत दिने निर्णयहरु खारेज गरेको भन्दै कांग्रेसले सरकारका जनविरोधी निर्णयको विरोधमा आन्दोलन गर्नु परेको जनाएको छ ।

मूल्यवृद्धि अकासिँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरताका साथ नलिएर गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भएको भन्दै कांग्रेस आपत्ति जनाउँदै आएको छ ।

nema
Show More

Related Articles

Back to top button