विश्व

उत्तर कोरियाले अमेरिकालाई भन्यो वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने ?

प्योङयाङ, जेठ १० । उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित भएको सन्दर्भमा उत्तर कोरियाका एक अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार सार्वजनिक भएको छ ।
उत्तर कोरियाको विदेश मामलासम्बन्धी उपमन्त्री जो सुन हुईले उत्तर कोरियाली सरकारी समाचार एजेन्सीमार्फत उक्त प्रश्न गरेकी हुन् । उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फक्स टेलिभिजनमा दिएको अन्तरवार्तामा व्यक्त विचारको पनि कडा आलोचना गरेकी हुन ।
अमेरिकी उपराष्ट्रपति पेन्सले फक्स न्यूजमा दिएको अन्तरवार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई चेतावनी दिदैं आगामी महिना हुने भनिएको शिखर वार्ता अघि कुनै प्रकारको खेल खेलेमा उत्तर कोरिया र उनकै लागि निकै भारी हुने बताएका थिए ।
उपराष्ट्रपति पेन्सले परमाणु कार्यक्रम स्थगित गरेर शान्ति प्रक्रियामा उत्तर कोरिया नआएको खण्डमा लिबियाली तानाशाह मोअम्मर गद्दाफीकै हालतमा उत्तर कोरियाली नेता किम पुग्ने पनि चेतावनी दिएका थिए ।
उत्तर कोरियाली उपमन्त्री हुईले त्यस्ता धम्कीबाट आफूहरु नडराउने बताइन् । उनले भनिन्, ‘धम्की दिएको भरमा हामीलाई वार्ताका लागि अमेरिकाले राजी बनाउन सक्दैन ।’
आफूहरुले अमेरिकासँग वार्ताका लागि भिख नमागेको प्रष्ट पार्दै उनले भनिन्, ‘यदि हामीसँग अमेरिका वार्तामा बस्न नचाहने हो भने हामी उसलाई मनाउने कष्ट पनि गर्दैनौं, हामीसँग वार्ता गर्ने कि परमाणु युद्धमा भिड्ने भन्ने कुरा सम्पूर्ण रुपमा अमेरिकामाथि नै निर्भर छ ।’ ९एजेन्सी०

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button