समाचारनेपाली कांग्रेस

नेपाली कांग्रेस एकाएक सरकारविरुद्ध आक्रामक

२० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस एकाएक सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।
विपक्षीको भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेका बेला कांग्रेस सदन र सडकमा एकसाथ आक्रमक बनेको हो ।
कांग्रेसले चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्दा बनाएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ भने माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।संसदीय दलको बैठकको निर्णयअनुसार कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक स्थलमा प्रदर्शन गर्न रोकेर सरकार पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाए ।
‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुन्थेन’ उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ ? बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’
डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।
किन आक्रमक बन्दैछ कांग्रेस ?
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवामाथि पार्टी चलाउन नसकेको मात्र होइन, प्रमुख प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप पार्टीभित्रैबाट लागेको छ ।
मिनेन्द्र रिजाल र गगन थापा लगायतका केही सांसदले लगातार संसदमा विभिन्न मुद्दाहरु उठाउँदै आएपनि कांग्रेस संगठित रुपमा प्रस्तुत भएको थिएन ।
तर, मंगलबार पार्टीका शीर्ष नेताहरुको बैठक बस्यो, जसले पार्टीेको आन्तरिक विषयमा बहस गर्दैगर्दा सार्वजनिक फोरममा भने एक भएर प्रस्तुत हुने सहमति जुट्यो । लगतै बुधबार विहान संसदीय दलको बैठक बोलाइयो ।

बैठकमा प्रमुख सचेतक बालृकृष्ण खाँडले पछिल्लो परिस्थितिबारे जानकारी गराए भने मिनेन्द्र रिजालसहितका सांसदहरुले आआफ्नो धारणा राखेका थिए । लगतै सभापति शेरबहादुर देउवाले नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने धारणा राखे ।
उनले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने बताए । टोलीमा सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमती शाही र प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ छन् ।
यस्तै गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पार्वता डी.सी चौधरी, डा. अमरेशकुमार सिंह र देवप्रसाद तिमिल्सिना रहेको टोली खटाएको छ । टोलीले बुधबार नै वीर अस्पताल पुगेर अधिकारीलाई भेटेको छ ।
चिकित्सा शिक्षा अध्यादेशको स्वामित्व हाम्रो
बैठकमा नेताहरुले कांग्रेसले कुनै पनि मुद्दा उठाउने तर, टुंगोमा नपुर्‍याउँदा भूमिका प्रभावकारी नदेखिएको बताएका थिए । सभापति देउवाले अब आफू पनि नियमित रुपमा संसद बैठकमा उपस्थित हुने बताए । साथै चिकित्सा शिक्षा अध्यादेश आफ्नो नेतृत्वको सरकारले ल्याएको भन्दै यसको स्वामित्व लिइने बताए ।
अध्यादेशसँगै डा. केसीको अनशनलगायतका मुद्दालाई टुंगोमा पुर्‍याएरै छाड्ने देउवाले बताएको एक सांसदले बताए । कांग्रेसले निषेधाज्ञा फिर्ता लिन आग्रह गरेको छ । नभए जनताको तर्फबाट निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको छ ।

२०७५ असार २० गते २०:५८ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button