आइएसले इराक र सिरियामा कब्जा गरेको भूभाग फिर्ताको घोषणा चाँडै हुने अमेरिकाको दाबी
२४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएस) ले कब्जामा लिएको सिरिया र इराकको भुभाग फिर्ताको घोषणा छिट्टै हुने दाबी गरेका छन् ।
ट्रम्पले सिरियाका जिहादीहरु परास्त भएको दाबी गर्दै अमेरिकी सेना त्यहाँबाट फिर्ता गर्ने घोषणा गरेका थिए । जसको अमेरिकामा विरोध भएको थियो ।
तर, आफ्नो घोषणामा टसको मस नभएका ट्रम्पले आईएसले कब्जामा लिएको थोरै भूभाग मात्र नियन्त्रणमा आउन बाँकी रहेको जिकिर गरेका छन् । ती भूभाग पनि छिट्टै अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आउने दाबी ट्रम्पको विश्वास छ ।
बीबीसीका अनुसार, वासिंटनमा आयोजित अमेरिकी नेतृत्वको गठबन्धन सदस्यहरुको बैठकमा ट्रम्पले अर्को सातासम्म आईएस पराजित भएको घोषणा गर्न सकिने बताएका छन् ।
‘सम्भवतः अर्को सातासम्म स्लामिक स्टेटको प्रभुत्व रहेको क्षेत्रको शतप्रतिशत भूभाग नियन्त्रणमा आएको घोषणा हुनेछ’, गठनबन्धन बैठकमा ट्रम्पले राखेको भनाइ उद्धृत गर्दै बीबीसले लेखेको छ ।
आईएसको पकडमा रहेको क्षेत्रलाई नियन्त्रणमा लिन अमेरिकी नेतृत्वको सेना सन् २०१४ देखि त्यहाँ लडिरहेको छ ।