नेपाली कांग्रेस

कांग्रेसमा पिएको संगठन बनाउन माग

यसअघि १३ भ्रातृ र १८ शुभेच्छुक संस्था रहेको कांग्रेसमा थप १९ संघसंस्थाले भ्रातृ, शुभेच्छुक संस्था बन्न पार्टीमा निवेदन दिएका छन्, जसमा ७ भ्रातृ र १२ शुभेच्छुक संस्था छन् । यसरी भ्रातृसंस्था बन्न चाहनेमा सांसदका स्वकीय सचिव ९पिए०हरूको पनि आवेदन परेको छ । पुरानै भ्रातृ र शुभेच्छुक संस्था नियमित र प्रभावकारी नभइरहेका वेला कांग्रेसमा पहिलेकै हाराहारी संख्याका लागि नयाँ संघसंस्थाहरूले आवेदन दिएका हुन् । एनपी साउद संयोजकत्वको समितिले उनीहरूको आवेदन हेरेर अन्तिम टुंगो लगाउने प्रयास गरिरहेको छ । यसरी नयाँ भ्रातृ र शुभेच्छुक संस्थाको लागि आवेदन दिनेमा जातीय, उद्योगी व्यापारी, स्थानीय तह कर्मचारीहरू र सांसदका पिएसम्मका छन् ।
यसरी टुंग्याउँदै छ कार्यदलले
कार्यदलले असोजको १०÷११ सम्म टुंग्याउने गरी काम गरिरहेको जानकारी केन्द्रीय सदस्य श्याम घिमिरेले दिए । ‘हामी सबै भ्रातृ र शुभेच्छुक संस्थाहरूको विधानलाई एकरूपता दिने र नयाँ आवेदनहरूलाई टुंग्याउने क्रममा छौँ,’ घिमिरेले नयाँ पत्रिकासित भने, ‘११ असोजसम्म टुंग्याउने गरी काम गरिरहेका छौँ ।’
भ्रातृसंस्थाको कार्यकाल ३ वर्ष
कांग्रेसका भ्रातृसंस्थाको कार्यकाल समान थिएन । यसपटक नियमावलीले सबै भ्रातृसंस्थाको कार्यकाल ३ वर्ष टुंगो लगाइसकेको जानकारी कार्यदल सदस्य प्रदीप पौडेलले दिए । ‘सबै भ्रातृसंस्थाको अब तीनवर्षे कार्यकाल हुन्छ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘पदाधिकारी सबैमा एउटै संख्यामा नहुन सक्छन् । तर, कुनैका २० र कुनैका ७ जना पदाधिकारी भन्ने हुँदैन । थोरै संख्यामा तलमाथि भने हुन सक्छ ।’
सदस्य पौडेल शुभेच्छुक बन्न आवेदन दिनेलाई बनाउनुपर्ने बताउँछन् । ‘जसले कांग्रेसको शुभेच्छुक बन्छु भनेर निवेदन दिएका छन् यो स्वभाविक छ,’ पौडेलले भने, ‘तर, यिनीहरूलाई व्यवस्थित गरेर एउटा मापदण्डभित्र राख्नुपर्छ ।’ भ्रातृ र शुभेच्छुक संस्थाहरूबाट प्रतिनिधित्व गराउने विषयलाई छलफलबाट टुंग्याउने तयारी भइरहेको जानकारी उनले दिए ।
सबैलाई मान्यता दिएर भोट बढाउने दाउ
अरू पक्षको असहमति भए पनि पार्टी संस्थापन पक्षले भने आवेदन दिने सबैलाई मान्यता दिने र पार्टीको महाधिवेशन, महासमितिमा प्रतिनिधित्व दिने विषयमा लचिलो भएको जानकारी एक नेताले दिए । ‘प्रतिनिधित्व दिँदा उनीहरूको पहुँचदेखि प्रतिनिधित्व केन्द्रमा पनि हुन्छ, यस्तोमा संस्थापनले आफूलाई फाइदा हुने देखेको छ,’ ती नेताले भने, ‘महाधिवेशन र महासमितिसहितका पार्टी कार्यक्रममा फाइदा हुने लोभ पनि उहाँहरूलाई होला ।’ तर, कांग्रेसमा संस्थापनइतर पक्ष प्रतिनिधित्व गराउँदा समान मापदण्डका आधारमा गराउनुपर्ने पक्षमा छ ।
यी हुन् नयाँ संस्थाकालागि आवेदन दिनेहरू
७ भ्रातृसंस्था
नेपाल थारू संघ दुईवटा, नेपाल राष्ट्रिय धिमाल संघ, नेपाल लोकतान्त्रिक निर्माण संघ, नेपाल तमु गुरुङ संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल इसाई संघ ।
१२ शुभेच्छुक संस्था
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ र राष्ट्रिय पर्यटन व्यवसायी संघ, लोकतान्त्रिक होटेल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक व्यापार संघ, लोकतान्त्रिक गैरसरकारी संघ, स्थानीय तह कर्मचारी युनियन, भाषा साहित्य संघ नेपाल, नेपाल आदिवासी क्षेत्री महासंघ, नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल, लोकतान्त्रिक सांसद स्वकीय सचिव संघ, नेपाल को–अपरेटिभ संघ ।
नयाँपत्रिकाबाट साभार

nema
Show More

Related Articles

Check Also
Close
Back to top button