breakingसमाचारविचारवी पी विचार

अमेरिका र चीनका विदेशमन्त्रीबीच साढे सात घण्टा वार्ता, सीलाई पनि भेट्ने

४ असार, काठमाडौं ।

भ्रमण तयारीको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले समकक्षी क्वीन गाङसँग साढे सात घण्टा वार्ता गरेका छन् । यो भ्रमण आपसी सम्बन्ध सुधारका लागि महत्वपूर्ण पहल हुने अपेक्षा अमेरिकी कूटनीतिज्ञहरूले गरेका छन् ।

दुई विदेशमन्त्री बीचको वार्ता निकै रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । चिनियाँ विदेशमन्त्रीले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखे पनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएको उसको समाचारमा उल्लेख छ ।

आइतबार बेइजिङ टेकेका ब्लिंकेनले अमेरिकाका लागि पूर्व चिनियाँ राजदूत समेत रहेका क्वीनसँग सरकारी आवासमा वार्तामा गरेका थिए । उनीहरूले साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा बिताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले विदेशमन्त्री बीचको लामो वार्ताले तनावरहित सम्बन्ध स्थापनामा सहयोग पुग्ने विश्वास लिएको बताएकी छिन् । ‘बालीमा दुई मुलुकका राष्ट्रप्रमुखले आपसी सहकार्यमा जोड दिएका थिए । त्यसको आधार तयार पार्दै स्थिर सम्बन्ध स्थापनाका लागि यो छलपल महत्वपूर्ण छ,’ उनले भनेकी छन् ।

समकक्षी ब्लिंकेनलाई क्वीनले चीन र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९७९ यताकै न्युन विन्दुमा पुगेको बताएका थिए । ताइवान मामिलामा अमेरिकी नीतिले दुई मुलुक बीचको सम्बन्धमा दरार पैदा गरेको उनले बताएका थिए ।

भेटमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले अमेरिका आफ्नो जनताको हित र आफ्नो मूल्य–मान्यता रक्षाका लागि सधैं अघि बढ्ने बताएका थिए । ‘अमेरिका आफ्नो जनताको हित तथा मूल्य र मान्यताको रक्षाका लागि आफ्ना सहयोगीसँग सहकार्य गर्दै अघि बढ्छ । स्वतन्त्र, खुला र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको प्रतिरक्षामा अमेरिकाले सहकार्य गर्छ,’ उनले समकक्षी क्वीनलाई भनेका छन् । आइतबारको भेटमा ब्लिंकेनले चिनियाँ समकक्षी क्वीनलाई वासिंटन भ्रमणको निम्तो समेत दिएका छन् ।

राष्ट्रपति सीलाई पनि भेट्ने तयारी

अमेरिकी अधिकारीहरूका अनुसार चीनसँगको तनावपूर्ण सम्बन्धको सुधार हालको भ्रमणको प्रमुख एजेण्डा हो । संवादमार्फत नै सबै असझदारीको समाधानका लागि अमेरिकाले यसपटक पहल गर्ने छ । ब्लिंकेनले सुरक्षा मामिलामा बढी छलफल गर्ने छन् ।

अमेरिकाले चीनले एशिया, अफ्रिका तथा मध्यपूर्वमा स्थापना गर्न खोजेको सैन्य क्याम्पबारे चासो राखेको छ । यसका साथै रूसलाई जारी राखेको हतियार सहयोगबारे कडा निन्दा गर्ने ब्लिंकेनको तयारी छ । ब्लिंकेनले चीनले नियन्त्रणमा लिएका अमेरिकीलाई रिहा गर्न अपिल गर्ने बताइएको छ ।

ब्लिकेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटका लागि पहल गर्ने भएका छन् । आइतबार आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम निकाल्न सकेको छैन ।

सोमबार हुने वार्ताको परिणामले सी र ब्लिंकेनबीचको भेटको निधो गर्ने बताइएको छ । सी र ब्लिंकेनको भेट सन् २०११ यता भएको छैन ।

copied from online khabar

nema
Show More

Related Articles

Back to top button