
उनले पत्रकार र समाजबीच सार्वजनिक सुनुवाइ राखेर गल्ती कमजोरी भए सच्याउन आव्हान गरे । ‘हामी आफैंले आफैंलाई नियन्त्रण र व्यवसायिक बनाउन आचार संहिता र निर्देशिका कार्यान्वयनमा लागिरहेका छौं’, उनले अगाडि भने, ‘कानुनको मस्यौदा पनि महासंघ आफैंले बनाएर सरकारलाई दिन लागिरहेको छ । मिडिया हाउसलाई मिडिया गाइडलाइन दिएको छ ।’ उनले महासंघले एनआरएनए नागरिकता निरन्तरता अभियानमा साथ दिइरहेको पनि स्मरण गरे ।

महासचिव विष्टले पत्रकार महासंघ नागरिकको आवाज बोल्ने संस्थाका रुपमा स्थापित र ठूलो सञ्जालका रुपमा विश्वभर विस्तारित भएको जनाए । पत्रकारहरु स्वार्थबाट प्रेरित र बाटो बिराए चौंथो अंगका रुपमा सम्मान नपाइने उल्लेख गर्दै विष्टले पत्रकारहरुले समाजकै मन जित्न र विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिए । मुलुक अब राजनीतिक संक्रमण सकिएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको जनाउंदै विष्टले राष्ट्र बनाउन रचनात्मक पत्रकारिताको खांचो औंल्याए । उनले पत्रकारहरुको आचरण र व्यवहार सुधार्न आवश्यक रहेको पनि बताए ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले आन्तरिक लोकतन्त्रको अभ्यासस्वरुप निर्वाचनसम्म संस्थाभित्र केही मतान्तर देखिएपनि अब शाखा एकतावद्ध र एक ढिक्का भएर अघि बढेको जनाए । उनले एनआरएनए यूकेको सम्मानले थप जिम्मेवारी थपिएको बताउंदै शाखा एनआरएनए यूकेसंग विगतमा जस्तै सहकार्य गर्न तत्पर रहेको बताए । आफ्नो नेतृत्व समुदाय र पत्रकारबीच अन्तर हटाउन निरन्तर लागिरहेको जनाउंदै खपांगीले पत्रकारहरुलाई समुदायमा बढि घुलमिल गराउन आफ्नो प्रयास जारी रहने पनि बताए । ‘हाम्रो पेशा त्रुटीमुक्त कहिल्यै हुन सक्दैन, तर हामी त्रुटी कम गर्ने र सच्याउने प्रयासमा सधैं कटिवद्ध रहनेछौं’, खपांगीले भने, ‘समुदायबाट पनि हामीलाई सुझाव सल्लाह र मार्गदर्शनको खांचो छ ।’
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले (एमबीइ) र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले पत्रकारहरुको नयां नेतृत्वलाई शुभकामना दिंदै आपसी सहकार्यको अपेक्षा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, महासचिव सञ्जयभक्त कंडेल, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा कुंवर र कुमारी गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पत्रकारहरु विपिन निरौला, विश्वासदीप तिगेला, वाचस्पति रेग्मी, एनआरएनए यूके उपाध्यक्षद्वय प्रेमगाहा मगर र पुनम गुरुङ, उपमहासचिव विनय अधिकारी, सल्लाहकारहरु थर्क सेन, शिवजी श्रेष्ठ लगायतले नयां कार्यसमितिलाई शुभकामना दिए । वक्ताहरुले एनआरएन र पत्रकारबीच सुमधुर सम्वन्ध रहने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शेर सुनारले स्वागत र लगानी विभाग प्रमुख एवं सदस्य गंगा रानाले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन महासचिव आर के त्रिपाठीले गरेका थिए । त्रिपाठीले महासंघ केन्द्रिय अध्यक्ष आचार्य र महासचिव विष्टलाई नागरिकता निरन्तरता र गोर्खा आन्दोलनमा साथ दिन अपिल गर्दै उनीहरुलाई गुडवील एम्बेसेडर घोषणा गरे ।
