समाचार

आयकरको स्ल्याब हेरफेर, तपाईंलाई कति भार थपियो ?

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत आयकरमा व्यापक परिवर्तन ल्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमा आयकरको साविकको संरचनामा व्यापक परिवर्तन ल्याएको हो ।
जसअनुसार अब पाँच वटा स्ल्याब कायम गरेको छ ।
अब एकल व्यक्तिले तीन लाख पचास हजार रुपैयाँका आम्दानीमा एक प्रतिशत आय कर तिर्नु पर्नेछ । यो साविककै व्यवस्था हो ।
यसभन्दा माथि ३ लाख पचास हजारदेखि ४ लाख पचास हजारससम्म १० प्रतिशत कर लाग्छ । यसमा ३ लाखसम्मको आन्दानीमा भने एक प्रतिशत नै आयकर लाग्नेछ ।
यसअघि यही परिमाणको आयमा १५ प्रतिशत कर लाग्थ्यो । १० प्रतिशतको यो स्ल्याव नयाँ व्यवस्था हो ।
यसैगरी चार लाख ५० हजारभन्दा बढी करयोग्य आयमा २० प्रतिशत नयाँ स्ल्याब थपिएको छ । सरकारले साढे चार लाख र साढे ६ लाखको बीचमा २० प्रतिशतको नयाँ स्ल्याब थपेको हो ।
जसअनुसार साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ देखि साढे चार लाखसम्म १० प्रतिशत र बाँकी आयमा २० प्रतिशत आयकर लाग्नेछ ।
यस्तै साढे ६ लाखदेखि २० लाखसम्ममा ३० प्रतिशत आय कर लाग्छ । नयाँ स्ल्याब थपिएको छ । जसअनुसार साढे ३ लाखसम्म १ प्रतिशत, साढे ३ देखि साढे चार लाखसम्म १० प्रतिशत र साढे चारदेखि साढे ६ सम्म २० प्रतिशत र बाँकीमा ३० प्रतिशत आयकर लाग्नेछ ।
२० लाख रुपैयाँभन्दा बढी आय भएको करदाताको हकमा अतिरिक्त २० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । यसमा २० लाखसम्म माथिल्लो स्ल्याब लागू हुनेछ भने बाँकीमा नयाँ स्ल्याबअनुसार अतिरिक्त २० प्रतिशत कर लाग्नेछ ।
यसअघि साढे चार लाखदेखि २५ लाखसम्म २५ प्रतिशत र २५ लाखभन्दा बढी आयमा ४० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था थियो ।
तर एकलौटी र्फम दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा सुरुको एक प्रतिशतको कर नलाग्ने व्यवस्था पनि गरिएको छ । यो साविककै व्यवस्था हो ।
विवाहित व्यक्तिको हकमा के छ व्यवस्था ?
यसैगरी विवाहित व्यक्तिको हकमा पनि आयकरको साविकको व्यवस्थामा परिवर्तन गरिएको छ ।
जसअनुसार विवाहित व्यक्तिको चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर लाग्नेछ । यो साविककै व्यवस्था हो ।
त्यस्तै, चार लाखदेखि पाँच लाखसम्मको करयोग्य आयका हकमा १० प्रतिशतको नयाँ स्ल्याब थपिएको छ । जसअनुसार अब चार लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्ने दम्पत्तिले अघिल्लो चार लाखसम्ममा एक प्रतिशत र बाँकीमा १० प्रतिशत कर तिर्नुपर्नेछ ।
हाल चार लाखदेखि पाँच लाखसम्म आय भएको दम्पत्तिका हकमा १५ प्रतिशतको स्ल्याब छ ।
पाँचदेखि सात लाखसम्ममा २० प्रतिशतको स्ल्याब कायम गरिएको छ । जसअनुसार पाँच लाखसम्मको आयमा १० प्रतिशत र त्यसभन्दा बढीमा २० प्रतिशतको आयकर लाग्नेछ ।
सात लाखभन्दा बढी तर २० लाखसम्मको आयमा ३० प्रतिशतको स्ल्याब कायम गरिएको छ । जसअनुसार अब सात लाखसम्मको आयमा २० प्रतिशत र त्यसभन्दा बढीकोमा ३० प्रतिशत आयकर लाग्नेछ ।
तर, २० लाखभन्दा बढी आयको हकमा थप २० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
हालसम्म पाँच लाखदेखि २५ लाखसम्मको आयमा २५ प्रतिशत र त्यसमाथि ४० प्रतिशत कर लाग्ने व्यवस्था थियो ।
तर एकलौटी र्फम दर्ता भएका करदाताको हकमा, निवृत्तिभरण बापतको आय र योगदानमा आधारित निवृत्तिभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा अघिल्लो एक प्रतिशतको स्ल्याब नलाग्ने व्यवस्था छ । यो साविकमै भएको व्यवस्था हो ।

२०७५ जेठ १५ गते २०:५२ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button